2018-11-20

रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार – २०६७

रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार – २०६७

प्रस्तावना

किरात याक्थुङ (लिम्बू जाति) को भाषा, धर्म, संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि मौलिक याक्थुङ मुन्धमको क्षेत्रमा खोज तथा अनुसन्धानगरी महत्वपूर्ण भूमिका निर्वाहगर्ने व्यक्ति, समूह तथा संस्थाहरुको भूमिका तथा योगदानलाई उच्च मूल्याङ्कनगर्दै प्रोत्साहन एवम् सम्मानस्वरुप.पुरस्कार प्रदानगर्नका लागि दिवङ्गत आत्माहरु क्रमशः पूज्याबजू रत्नशोभा फागो चोङबाङ याक्थुम्बा, पूज्यबाजे डिठ्ठा दलकर्ण फोम्बो याक्थुम्बा, पूज्यामाता शुभलक्ष्मी कुरुम्बाङ याक्थुम्बा, पूज्यपिता दुर्गाकर्ण फोम्बो याक्थुम्बा, श्रद्धेयदाजु कालीप्रसाद फोम्बो याक्थुम्बा, श्रद्धेयादिदी सुश्री दीपा फोम्बो याक्थुम्बा, प्रियाधर्मपत्नी अरुणा ल्केप्चईं याक्थुम्बा तथा प्रियपुत्र अपूर्व फोम्बो याक्थुम्बाको सम्झनामा किरात याक्थुङ चुम्लुङका पूर्व अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार मञ्जुल फोम्बो याक्थुम्बाबाट प्राप्त रकम रु ५,००,००० (पाँच लाख रुपैंया) को एक पुरस्कार अक्षय कोष स्थापनागरी संचालन गर्नका लागि “रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार” कार्यान्वयन गरिएको हो ।

उद्देश्य

मौलिक याक्थुङ मुन्धुमको क्षेत्रमा अध्ययन अनुसन्धानगरी मुन्धुमको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाहगर्ने व्यक्ति वा समूह वा संस्थालाई सम्मानस्वरुप पुरस्कार प्रदान गर्ने ।

पुरस्कार राशी

पुरस्कार रकमको श्रोत पुरस्कार अक्षय कोषबाट प्राप्त व्याज र अन्य तोकिएको श्रोत हुनेछ । पुरस्कार अक्षय कोषमा जम्माभएको रकम कुनै हालतमा पनि खर्च गर्न पाइनेछैन । पुरस्कार रकम रु १,००,००० (एक लाख रुपैंया) सहित एक प्रमाण पत्र हुनेछ । एक भन्दा बढी व्यक्ति वा समूह वा संस्था पुरस्कृत भएमा सो पुरस्कारको धनराशि दामासाहीको आधारमा प्रदान गरिनेछ ।

सहभागिता

मौलिक याक्थुङ मुन्धुम सम्वन्धी प्रकाशित कृतिहरु सहभागी हुनेछन् । संचालक समितिलाई सम्बन्धित प्रतिस्पर्धीबाट उपलब्ध वा अन्य कुनै श्रोतबाट प्राप्त प्रकाशित मौलिक कृतिहरुलाई सहभागी गराइनेछ । कृतिको आधारमा व्यक्ति वा समूह वा संस्थाले जति पटक पनि सहभागी हुन पाउनेछ । सहभागी कृतिहरु मौलिक मुन्धुममा आधारित खोजमूलक, अनुसन्धानात्मक र तथ्यपरक हुनु पर्नेछ । किरात सिरिजङ्गा लिपि, लिम्बूभाषाको प्रचार प्रसार, संरक्षण र मौलिक मुन्धुमको महत्वसमेत राम्ररी दिलाउन सकियोस भन्ने मूल उद्देश्यलिई पुरस्कारको स्थापना गरिएकोले प्रतिस्पर्धाको लागि प्रस्तुतहुने कृति वा कृतिहरुमा निम्न लिखित बुँदाहरु समावेश भएको हुनु पर्नेछ ।

प्रतिस्पर्धाको लागि सहभागी कृति वा कृतिहरु किरात सिरिजङगा लिपिमा लेखिएका लिम्बू भाषाका कृतिहरुलाई प्राथमिकता दिइनेछ । प्रतिस्पर्धाका कृति वा कृतिहरु देवनागरी लिपिमा लिम्बूभाषामा लेखिएको छ भने नेपाली वा अंग्रेजी भाषामा उल्था गरिएको हुनुपर्नेछ । प्रतिस्पर्धाको लागि प्रस्तुत कृति वा कृतिहरु मौलिक मुन्धुममा आधारित खोजमूलक, अनुसन्धानात्मक र सान्दर्भिक प्रमाणयुक्त हुनुपर्नेछ । माथि उल्लेखित मापदण्ड नपुगेको कृति वा कृतिहरु प्रतिस्पर्धाको लागि योग्य मानिने छैन । प्रतिस्पर्धाको लागि प्रस्तुतहुने कृति वा कृतिहरु सम्वन्धित व्यक्तिले तोकिएको ढाँचा वा मितिमा स्वयम् आफैले प्रस्तुतगर्न पर्नेछ । तर संचालक समितिले विभिन्न श्रोतहरुबाट समेत प्रतिस्पर्धा गराउनका लागि कृति वा कृतिहरु संकलनगरी वा गराई प्रतिस्पर्धा गराउन सक्नेछ ।

संस्थापक

रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार”का लागि अक्षय कोषमा रु ५,००,००० (पाँच लाख रुपैंया) रकम प्रदानगर्ने दाता श्री मञ्जुल फोम्बो याक्थुम्बालाई संस्थापक दाता सम्झनु पर्दछ । पुरस्कार कोष वृद्धिका लागि पुरस्कार कोष संस्थापकदाता वा निजको उत्तराधिकारी परिवारजनहरुले रकम थप गर्न सक्नेछन । तर संस्थापकदाता वा निजको उत्तराधिकारी परिवारजन बाहिरकाहरुले भने रकम थप गर्न सक्ने छैन ।

पुरस्कृत व्यक्तित्व कृतित्व

२०६९ साल । प्राज्ञ बैरागी काँइला । तङसिङ तक्मा मुन्धुम ।

२०७१ साल । प्राज्ञ बैरागी काँइला । मुजिङना खेयङना मुन्धुम, लाहाङदङना सुहाम्फेबा मुन्धुम, पाजाइबा मुन्धुम, खाप्पुनामा केयलङहाङमा मुन्धुम नु लुप्लीनामा वदन्नामा मुन्धुम, नाम्सामी केसामी मुन्धुम ।

२०७३ साल । स्व. इमानसिंह चेम्जोङलाई मरणोप्रान्त पुरस्कृत व्यक्तित्वका नजीकका हकवालालाई । वि.सं. २०१८ सालमा प्रथम संस्करणको रुपमा प्रकाशित “किरात मुन्धुम (किरात वेद)” ।