2019-05-30

धरान चुम्लुङ हिममा निर्माण भएको विशाल त्रस हस्तान्तरण कार्यक्रम

जेठ ११ २०७६ । धरान चुम्लुङ हिम ।

स्व. देउ बहादुर कन्दङ्वाको स्मृतिमा धरान चुम्लुङ हिममा निर्माण भएको विशाल त्रस हस्तान्तरण कार्यक्रममा सहभागी हुन ऐतिहासिक अवसर प्राप्त भयो । उक्त अवसरमा धरानवासी माझ किरात याक्थुङ चुम्लुङको गतिविधिहरु र धारणाहरु राख्न अवसर मिल्यो । संस्था स्थापनाको इतिहास, संगठन निर्माणको वर्णन, विषयगत संगठनहरु मार्फत भइरहेको गतिविधिहरु, हाल कार्यान्वयनमा रहेको तीन वर्षे नीति तथा कार्यक्रमहरुको बारेमा प्रकाश पारियो ।

त्यसैगरी गत फागुनमा सम्पन्न २२ औं राष्ट्रिय चुम्लुङले पारित गरेको लिम्बुवान आन्दोलन, किरात धर्म बारेमा प्रष्ट दृष्टिकोण, सामाजिक सञ्जालहरुमा सकारात्मक हुनुपर्ने अपील गरियो । प्रदेश १ को नामाकरण गर्दा किरात लिम्बुवान गर्न उपयुक्त हुने, लिम्बुवान संयुक्त संघर्ष समितिलाई सकृय बनाउन समन्वय गर्ने जानकारी दिइयो । आदिवासी चाडको राष्टित्रय बिदा कटौतीमा विरोध, सांस्कृतिक थलोहरुको संरक्षण सम्बद्र्धन जसमा थरगत संस्थाहरुसँग सहकार्य हुनुपर्ने, भुमि अधिकार, लोकसेवा तयारी कक्षा, सेना प्रहरीमा लिम्बुहरुलाई प्रोत्साहित गर्नुपर्ने, लिम्बुहरुको विषय र पेशासँग सम्बन्धित संगठनहरुको गठन, विभिन्न पुरस्कार कोषहरुको निर्माण र वितरण, जहाँ चुम्लुङ हिम त्यहाँ लिम्बु मातृभाषा कक्षा संचालन अभियान, प्रदेश र स्थानीय तहको बजेट साधनश्रोतमा पहुँच पुरयाउन लाग्नुपर्ने विचारहरु सम्प्रेषण गरियो ।

त्यसैगरी भौतिक संरचनाहरुको विकाससँगै अब चुम्लुङले आम गतिविधिहरु केन्द्रदेखि गाउँपालिका तहसम्म राजनीतिक चेत निर्माण एवम् अभियानमुलक क्रियाकलापहरु गर्नको लागि आत्मनिर्भर अक्षय कोष खडा गर्ने अभियान चालेको जानकारी दिइयो । चुम्लुङ जति आम र ब्यापक छ, सो भएकै हुनाले थुप्रै आलोचना र सुझावहरु आएका हुन् जसलाई आत्मसात् गर्दै यसको आफनै सिमितताहरु छन् भन्दै लिम्बु समाजमा औपचारिक अनौपचारिक संगठनहरु, संस्थाहरु, समितिहरु, समूहहरु, थरगत संस्थाहरु, उपभोक्ता समितिहरु बनी क्रियाशील रहेकाले चुम्लुङले आफैले गर्नेभन्दा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको विचार प्रस्तुत गरियो ।