2020-09-11

मिति २०७७।०२।२६ सिमाना विवाद विज्ञप्ति

मिति २०७७।०२।२६ सिमाना विवाद विज्ञप्ति

विद्यमान नेपालको सिमाना विवाद, सिमा नाकामा र विदेशमा अलपत्र परिरहेका नेपालीहरुको फिर्ता गर्नुपर्ने समस्या सम्बन्धमा लिम्बु आदिवासी संगठन किरात याक्थुङ चुम्लुङको केन्द्रीय सचिवालयको मिति २०७७।०२।२५ गते भर्चुअल बैठक बसी निम्नानुसारको दृष्टिकोण जारी गर्ने निर्णय भए अनुसार यो विज्ञप्ति जारी गरिएको छ ।

नेपालको पश्चिम उत्तरमा पर्ने सिमानाको दार्चुला जिल्लाको लिम्पीयाधुरा लिपुलेक कालापानी क्षेत्र नेपालको भुभाग सम्बन्धमा गत वर्ष भारत सरकारले यही क्षेत्रलाई भारतको देशको नक्सामा राखी जारी गरेकोमा किरात याक्थुङ चुम्लुङले कडा विरोध जनाएको स्मरण गर्दै, फेरि यही क्षेत्र हुँदै अहिले कोरानाको विश्वमहामारीको कारण सर्बत्र बन्दाबन्दी (लकडाउन) भइरहेको विषम परिस्थितिमा पनि कुनै सम्बेदनशीलता नराखी भारत सरकारले सडक बनाई औपचारिक उद्घाटन गरी नेपालको सार्वभौमसत्ता र अखण्डतामा धावा बोलेकोमा किरात याक्थुङ चुम्लुङ विरोध प्रकट गर्दछ ।

यस सन्दर्भमा नेपालको सार्वभौमसत्ता स्थापित गर्नको लागि यो क्षेत्रलाई समेटेर नेपाल सरकारबाट नेपालको नक्सा जारी गर्नुलाई एक ऐतिहासिक र स्वागतयोग्य कदम ठान्दै यस मामिलालाई सफल निष्कर्शमा पुरयाउन अविलम्ब वार्ता र कुटनीतिक पहलको लागि अपील गर्दछ ।

त्यसैगरी नेपालको पुर्वी सिमानामा पनि भारतसँग सिमाना जोडिएको पाँचथर र इलामको उच्च पहाडका सीमावर्ती क्षेत्रमा नेपाल तर्फ पर्यटकीय पूर्वाधार निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलले अवरोध गर्दै आएकोमा किरात याक्थुङ चुम्लुङ विरोध प्रकट गर्दछ । कोरोना विश्व महामारीको कारण भारत–नेपाल नाकाहरुमा अलपत्र परिरहेको नेपालीहरुको कष्टकर जीवन, क्वारेन्टीनमा देखिएको अव्यवस्था, स्वास्थ्य जाँच र उपचारको अपर्याप्तता, उचित खानपिनको अभाव, भेदभावजन्य व्यवहार लगायतका विभिन्न समस्याहरुको तुरुन्त सम्बोधन गरियोस भनी नेपाल सरकार समक्ष माग गर्दछ । त्यसैगरी अन्य विभिन्न देशहरुबाट नेपाल फर्कन बाध्य भई अलपत्र परिरहेका नेपालीहरुलाई पनि व्यवस्थितढंगले फर्काउनको लागि नेपाल सरकार समक्ष किरात याक्थुङ चुम्लुङ जोडदार माग गर्दछ ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति