Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
प्रेस विज्ञप्ती
प्रथम अन्तर्राष्ट्रिय लिम्बू सम्मेलन सुरु
International Limbu Conference (Watch Live Video Now)
कुमार बखिमद्धारा प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलनलाई सहयोग
प्रथम लिम्बु अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिने
पहिलो संविधानसभाबाट प्राप्त उपलब्धीलाई टेकेर मात्र नयाँ संविधान निर्माण कार्यमा अघि बढ्न सकिन्ने ः चुम्लुङ
चेम्जोङ जन्मजयन्तीमा अन्तरक्रिया र वेबसाइड लञ्ज
इलाममा च्याबु्रङ महोत्सव
लिम्बुवान अध्ययन केन्द्र एक विश्वविद्यालयको परिकल्पना
सुनसरीमा चासोक तङनाम सम्पन्न

किरात याक्थुङ चुम्लुङको राष्ट्रिय महाधिवेशन पहिचानदेखि लिम्बुवानको राजनीतिसम्म


विष्णु सिङगक लिम्बू

किरात याक्थुङ चुम्लुङको स्थापना
चुम्लुङुको शाब्दिक अर्थ केलाउने हो भने भेला हुनु भन्ने बुझिन्छ । समाजलाई व्यवस्थित तौर तरिकाले चलाउने क्रममा लिम्बूहरु विभिन्न झगडाहरु मिलाउन समस्याहरु सुल्झाउन भेदभावहरु हटाउन सामूहिक निर्णयहरु गर्न चलनचल्ती बसाउन र फेर्न चुम्लुङ बस्ने गर्दै आएका थिए । तसर्थ चुम्लुङ बसाउने वा बस्नु भन्ने चरित्र र अभ्यास लिम्बूहरुको जातीय अभ्यास थियो । सामूहिक छलफल गरि निष्कर्षमा पुग्ने संस्थागत स्वरुप चुम्लुङमा अभ्यस्त ती जातिका सदस्यहरु आफ्नो थातथलो छोडी काठमाडौँ आउन बाध्य भए पनि त्यसलाई निरन्तरता नदिइ रहन सकेनन् । यिनै मनोविज्ञान र जातीय चरित्रबाट चुम्लुङ जन्मन कत्ति पनि गाह्रो भएन । लिम्बू जमात भएको ठाउँमा चुम्लुङ त हुनु नै थियो र काठमाडौँमा जन्मियो । इतिहासमा लिम्बू र लिम्बुवानको सवाललाई लिएर थुप्रै सङ्गठित प्रयासहरु हुदै आएपनि त्यसले संस्थागत रुप र निरन्तरता पाउन नसकेको कियाचुका केही संस्थापकहरुको अनुभूतिहरु छन् । केहीको भनाइमा लिम्बुवानबाट काठमाडौँ उपत्यकामा आएर बसेका लिम्बूहरु मराउपराउ पर्दा साह्रै नै दुःख भयो । त्यो दुखलाई व्यवस्थापन गर्न र सामाजिक सुरक्षाको अनुभूति दिलाउन सबैलाई सामूहिकपन वा एकताको ठूलो आवश्यकता थियो । यिनै कारणबाट चुम्लुङले औपचारिक रुप लियो । अर्को वास्तविकता साम्प्रदायिकताको विरोध गर्ने र जातीय उत्थानका लागि एकजुट हुने ऐक्यबद्धताका साथ चुम्लुङको विजारोपण भएको हो ।
२०४६ भदौ १७ गते नेपाल ल क्याम्पसमा सम्पन्न लिम्बूहरुको भेलाबाट विधिवत् रुपमा एक तदर्थ समिति निर्माण भएको थियो । नन्द कन्दङवा अध्यक्ष रहेको त्यही तदर्थ समितिको गृहकार्यबाट नै यो सङ्गठनको नाम किरात याक्थुङ चुम्लुङ भनी नामाङकन भयो भने २०४६ पुस २२ गते कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।
राष्ट्रिय महाधिवेशन ः एक सर्वोच्च अङ्ग
किरात याक्थुङ चुम्लुङको सङ्गठन संरचनामा राष्टिय महाधिवेशन सर्वोच्च अङ्ग हो । सङगठनलाई वैचारिक मार्गदर्शन दिने निकाय हो । २०४६ पुस २२ गते त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलबाट सुरु भएको राष्ट्रिय महाधिवेशन हालसम्म सातौँपटक सफलतापूर्वक सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङले मूलतः लिम्बूको पहिचानलाई अझ समृद्ध बनाउन थालनी गरेको यात्राको क्रममा अनगिन्ती अनुभव र अनुभूतिहरु सँगाल्दै थुप्रै कुइनेटाहरु छिचोलेको छ । संगठन जीवनको यो उमेर र यात्रा सँगसँगै निरन्तर लागिरहने यसका आम कार्यकर्ताहरु ३/३ बर्षको अन्तरालमा बृहत आकारमा भेला भएर आफूले भोगेका अनुभव र अनुभूतिहरुलाई साझा र मार्गनिर्देशक बनाउन अनि तिनलाई राष्ट्रिय रुपमा अभिव्यक्त गर्न यी राष्ट्रिय महाधिवेशनहरु आयोजना हुदैँ आइरहेका छन् । आगामी चैत्र २५ २६ र २७ गते लिम्बुवानको मोरङ जिल्ला विराटनगरमा किरात याक्थुङ चुम्लुङको आठौँ राष्ट्रिय महाधिवेशन हुन गइरहेको छ र यसको तयारी अन्तिम चरणमा पुगेको छ ।
विगतका महाधिवेशनहरुलाई फर्केर हेर्दा
किरात याक्थुङ चुम्लुङको हालसम्मका राष्ट्रिय महाधिवेशनहरुमा पारित भएका मुख्य मुख्य प्रस्तावहरुलाई विषयगत मुद्दाको हिसाबले वर्गीकरण गरेर हेर्न उपयुक्त ठानिएको छ । पारित प्रस्तावहरुलाई सस्रर्ती हेर्दा ती प्रत्येक महाधिवेशनहरु थुप्रै विषयहरुमा संस्थागत दृष्टिकोणहरु प्रदान गर्न सफल र महत्वपूर्ण देखिन्छन् । तीमध्ये कुन कालखण्डमा कुन विषय वा सवालमा महाधिवेशनको ध्यान केन्द्रित रहेको थियो भन्ने कुरा विश्लेषण गर्नु सान्दर्भिक देखिन्छ ।
१. दोश्रो राष्ट्रिय महाधिवेशनले पहिलो पटक जातीय परिचयका प्रमुख पाटाहरु धर्म संस्कृति चाडपर्व शिक्षा रोजगारी भाषा लिपि युवा भूपू सैनिक वातावरण मातृभाषामा शिक्षा आदीवासी अधिकार इतिहास जनगणनाजस्ता सवालहरु सहित ३२ वटा प्रस्तावहरु पारित गरेको थियो । त्यो बेला २०४६ सालको जनआन्दोलन पश्चात नेपालको राजनीतिले एकदलीय एवम् निरङ्कुश परिवेशबाट बहुदलीय एवम् प्रजातान्त्रिक परिवेशमा प्रवेश गरेको हुँदा नेपाली समाजले खुलापनको अनुभूति गरिरहेको अवस्था थियो । खुलापनपछि विलय हुन पुगेको परिचयलाई पुन स्थापित र निर्माण गर्नको लागि सबै व्यक्ति जाति समाज र सङ्गठनहरुले आफ्नो चिनारी खोजिरहेको सन्दर्भमा त्यो महाधिवेशनको ध्यान पनि त्यतातिर जानु स्वाभाविक देखिन्छ ।
२. तेश्रो राष्ट्रिय महाधिवेशनमा सबैभन्दा बढी भाषाको विषयमा छलफल भएको थियो । पारित भएका २५ प्रस्तावहरुमध्ये प्रस्ताव नं। ३ ४ ७ ८ ९ १२ १४ र १६ मा लिम्बू भाषासँग सम्बन्धित भएर भाषाको प्रयोग विकास र भाषा बाँचे मात्र जाति परिचयको मुल आधार बाँच्नेछ भन्ने यथार्थतालाई मान्यता दिएको थियो । बालबालिका र महिलाहरुको अधिकार लागूपदार्थ दुव्र्यसनीको उपचार तथा पुनस्थापना कार्यक्रमजस्ता नयाँ विषयहरुमाथि प्रस्तावहरु पारित भएका थिए ।
३. चौथो राष्ट्रिय महाधिवेशनमा पारित भएका १९ महत्वपूर्ण प्रस्तावहरुमध्ये सगठन विकासलाई लिएर सबैभन्दा बढी छलफल भएको थियो । त्यस्तै २०५८ सालको राष्ट्रिय जनगणनालाई विशेष महत्वका साथ छलफल गरी पारित प्रस्ताव नं। ४ मा सम्पन्न हुन लागेको जनगणनामा धर्मको महलमा किरात जाति लिम्बू प्रथम भाषा वा मातृभाषा लिम्बू लेख्न लेखाउन सम्पूर्ण लिम्बूहरुमा हार्दिक आह्वान गरिएको थियो । साथै सरकारसँग विभिन्न जनजातिको सामाजिक आर्थिक सांस्कृतिक पेशागत र जनसांख्यिक तथ्याक सकलन र विश्लेषण तथा प्रकाशन गर्न गराउन जोडदार माग गरिएको थियो ।
४. पाचौं राष्ट्रिय महाधिवेशनले जम्मा ८ वटामात्र प्रस्तावहरु पारित गरे तापनि यसै महाधिवेशनले पहिलोपटक लिम्बू जातिको आत्मनिर्णयको अधिकार र द्वन्द्वकालीन राजनीतिको दीर्घकालीन समाधानार्थ दृष्टिकोण सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरु पारित भएका थिए । संयुक्त राष्टसंघको महासभाले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्टसंघीय घोषणपत्रको धारा ३ अनुसार आदिवासी जनजातिहरुसँग आत्मनिर्णयको अधिकार छ । त्यस अधिकारका कारण उनीहरु आफ्नो राजनीतिक स्थितिबारे स्वतन्त्ररुपमा निर्णय गर्दछन् र आफ्नो आर्थिक सामाजिक तथा सांस्कुतिक विकासको खोजी गर्दछन् भनिएको छ । नयाँ नेपाल निर्माणको सन्दर्भमा नेपालका आदिवासी लिम्बूहरुले माग गरेको लिम्बुवान जातीय स्वायत्तताको थुप्रै आधार र औचित्यहरुमध्ये यो सवाल उनीहरुको आत्मनिर्णयको अधिकारको प्रयोग पनि हो । २०५९ सालताका देश द्वन्द्व अशान्ति राजनीतिक मुठभेड जनयुद्ध र शाही निरकुशताबाट असाध्य आक्रान्त थियो । यो कठिन परिस्थितिमा सङ्गठन जीवनलाई बचाउँदै संयमित होशियार र विवेकपूर्ण दृष्टिकोणका साथ सङ्गठनलाई निरन्तर अघि बढाउन अत्यन्त चुनौतीपूर्ण स्थिति थियो ।
५. छैटौं राष्ट्रिय महाधिवेशनले पारित गरेका ३७ वटा थुप्रै प्रस्तावहरुमध्ये राजनीतिक सवालहरुमा अत्यधिक मात्रामा ऐतिहासिक प्रस्तावहरु पारित भएका थिए । यो महाधिवेशन हुदाँताका १७ बर्षे खुला परिवेशको कारण प्राप्त जागरुकता १० बर्षे जनयुद्धको पृष्ठभूमि राष्ट्रिय जनआन्दोलन २०६२/६३ को सफलतापश्चात् नेपालमा एकात्मक र केन्द्रीकृत शासन प्रणाली र यसको प्रमुख पृष्ठपोषक राजतन्त्रको अन्त हुने क्रमसँगै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र उन्मुख भइरहेको परिस्थिति थियो । यस परिवर्तित सम्बन्धमा सम्पन्न यो महाधिवेशनमा नयाँ नेपालमा कुन राजनीतिक खाकाले लिम्बूहरुको राजनीतिक हक अधिकार सुनिश्चित र सुरक्षित गर्न गराउन सकिन्छ भनी मुख्यतः राजनीतिक सवालहरुमा अत्यन्त धेरै छलफल भएका थिए । लिम्बुवान जातीय स्वायत्त राज्यको विशेषता आधार र अधिकारहरुको बारेमा विभिन्न प्रस्तावहरु पारित भएका थिए ।
६. सातौँ राष्ट्रिय महाधिवेशनमा पारित भएका ३१ वटा प्रस्तावहरुमा विशेष गरी छैटौं राष्ट्रिय महाधिवेशनको मार्गदर्शन अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत लिम्बूहरुको आत्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वायत्त राज्य स्थापनाप्रति अटल रही यसको सुनिश्चितताको लागि अझ प्रभावकारी रणनीतिहरु ल्याउने प्रस्तावहरु पारित भएका थिए । लिम्बुवान स्वायत्त राज्य स्थापनार्थ अघि बढ्ने क्रममा विगतका विविध अभियानहरु छलफल गोष्ठी तथा बैठकहरुमा व्यापक छलफल गरी प्राप्त भएका सुझावहरुसहित तयार पारिएको लिम्बुवानको प्रस्तावित मस्यौदा खाका यो महाधिवेशनमा प्रस्तुत भयो । उक्त मस्यौदा खाकामाथि यो महाधिवेशनमा पनि व्यापक छलफल भई प्राप्त सुझावहरुलाई समाबेश गरी यसलाई अन्तिम रुप दिने निर्णय भएको थियो । त्यस्तै प्रस्ताव नं। २ ५ र १२ मार्फत जैविक विविधतासम्बन्धी महासन्धि आइएलओ महासन्धि १६९ र आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रले प्रदान गरेको आदिवासी अधिकारहरुलाई लिम्बूहरुको सन्दर्भमा स्थापित गर्न गराउन र कार्यान्वयन गराउने प्रतिवद्धत्ता व्यक्त गरेको देखिन्छ ।
अन्त्यमा
पहिलो र दोस्रो महाधिवेशनबाट बीबी चेम्जोङ तेस्रो चौथो र पाँचौ महाधिवेशबाट माजुल याक्थुङ्बा र छैठौँ र सातौँ महाधिवेशनबाट अर्जुन नुगो लिम्बू चुम्लुङको अध्यक्ष पदमा निर्वाचित भएका थिए भने चुम्लुङले समय सापेक्ष नयाँ नयाँ एजेन्डा र मुद्दाहरुलाई प्रस्ताव र पारित गर्ने पनि गरेको पाइन्छ । यसरी आजसम्मका सम्पूर्ण महाधिवेशनहरुलाई सतही रुपमा नियाल्दा दोश्रो महाधिवेशनमा धेरै विषयवस्तुहरुलाई समेट्न खोजेको देखिन्छ भने पाचौं छैटौ र सातौं महाधिवेशनले विशेष विषयलाई मात्र समेटेको देखिन्छ । दोश्रो तेश्रो चौथो र पाचौ महाधिवेशनहरुले विशेष गरी भाषा लिपि धर्म संस्कृति र मातृभाषामा शिक्षा सम्बन्धमा मात्र बढी ध्यानाकर्षण गरेको देखिन्छ । हुन त महाधिवेशन हुदाँ ताकाको तत्कालीन परिवेशले उपर्युक्त महाधिवेशनहरु प्रभावित हुने नै भए । दोश्रो महाधिवेशनबाट नै आदिबासी अधिकारका सम्बन्धमा मुद्दा उठान गर्दै आए पनि राजनीतिक सवालका रुपमा पाचौँ महाधिवेशनबाट आत्मनिर्णयको अधिकारको विषयमा प्रस्ताव आउन सुरु भएको देखिन्छ । त्यसपछि ऐतिहासिक रुपमा छैटौँ र सातौं महाधिवेशनले नयाँ नेपालमा कुन राजनीतिक खाकाले लिम्बूहरुको राजनीतिक हक अधिकार सुनिश्चित र सुरक्षित गर्न गराउन सकिन्छ भनी मुख्यतः राजनीतिक सवालहरुमा अत्यन्त धेरै छलफल हुनुका साथै लिम्बुवानको प्रस्तावित मस्यौदा खाका प्रस्तुत भएको थियो जसलाई विशेष उपलब्धि र महत्वका साथ लिन सकिन्छ । यसरी किरात याक्थुङ चुम्लुङले पछिल्लो समयमा लिम्बुवान सुनिश्चितताको लागि गरेको राजनीतिक काम र प्रस्तावहरु धेरै प्रशंसनीय छन् । तर पनि किरात याक्थुङ चुम्लुङले अझ बढी पाइला चालिदिए हुन्थ्यो भन्ने जनआकाङ्क्षा रहेको देखिन्छ ।
महाधिवेशनहरु प्राय नेतृत्व फेरबदलमा केदि्रत हुने गर्दछन जुन एक हदसम्म स्वाभाविक पनि हो तर किरात याक्थुङ चुम्लुङका महाधिवेशनहरु त्यतातिर मात्र अलमल नगरी विचार निर्माण गर्न त्यत्तिकै जिम्मेवार ढङगले प्रस्तुत भएका देखिन्छन् । महाधिवेशनमा हुने सहभागिताको दायरा अत्यन्त फराकिलो हुने भएकोले त्यस क्षणमा विचार सम्प्रेषण हुदाँ त्यसको फैलावट पनि व्यापक हुने गर्दछ । किरात याक्थुङ चुम्लुङको महाधिवेशनहरुलाई हेर्दा विचार निर्माण सम्प्रेषण र परिमार्जन प्रकि्रयाहरुले प्रधानता पाएका देखिन्छन् । हुन पनि सङगठनलाई सफल ढङ्गले साचालन गर्नको लागि वैचारिक स्पष्टता र त्यस अनुरुपको नेतृत्व बीचको सन्तुलन अत्यन्त आवश्यक पर्दछ ।
महाधिवेशनहरुबाट पारित प्रस्तावहरुलाई केलाउदा यसको उद्देश्यहरुमा उल्लेख गरिएका विषयवस्तुहरुलाई सन्तुलित रुपमा सबै महाधिवेशनहरुमा उठान गर्न सकेको देखिदैन । हुन त महाधिवेशन हुदाँ ताकाको तत्कालीन परिवेशले उपर्युक्त महाधिवेशनहरु प्रभावित भए । तरै पनि आगामी महाधिवेशनहरुमा ती विषयवस्तुहरुको सन्तुलित ढङ्गले उठान गरी विचार र त्यस अनुरुपको कार्यक्रमहरु आउनु आवश्यक देखिन्छ ।
लिम्बुवान जातीय स्वायत्तताको मुद्दालाई तार्किक र सफल निष्कर्षमा पुर्याउन वर्तमानमा किरात याक्थुङ चुम्लुङको प्रमुख दायित्व बनेको छ । सङ्गठनको प्रकृति क्षमता र मूल्यमान्यतालाई हृदयङ्गम गरेर वर्तमान परिस्थितिलाई समेत बोकेर किरात याक्थुङ चुम्लुङलाई समग्रमा कुशलतापुर्वक प्रस्तुत गर्न गराउन आगामी महाधिवेशनमा सबैजना जुट्न आवश्यक देखिन्छ ।
तान्छोप्पा


Posted on:2012-03-30