याक्थुङ सहयोग कोष
नेपाल एक बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसंस्कृतिपूर्ण अधिराज्य भएको र त्यस मध्ये किरात याक्थुङ (लिम्बू) समुदाय पनि आफ्नो धर्म, भाषा, लिपि, संस्कृति, कला र इतिहास बोकेको समुदाय विशेष हुँदा हुँदै पनि आर्थिक विपन्नता, विवशताको कारण देश, विदेश रोजगारीका लागि प्रवासिन परेको र यसरी चारैतर्फ तितरबितर भै रहन, बस्नको कारण आफ्नो भाषा, धर्म, संस्कृति, कला र इतिहासमा वाञ्छित योगदान पुग्न नसकिरहेको पृष्ठभूमिमा याक्थुङ (लिम्बू) समुदाय देश, विदेशमा रहे, बसे भए पनि उनीहरू सबैको संगठित योगदान जुटाउन समयोचित एवं वाञ्छनीय भएकोले,
देश, विदेशबाट जुट्ने, जुट्न सक्ने योगदान, सहयोगलाई संस्थागत गर्न र किरात याक्थुङहरूको विकास, संरक्षण र सम्बद्र्धनका खातिर गर्ने गरिने कुनै पनि प्रयासहरूलाई किरात याक्थुङ चुम्लुङकै मातहतमा रहेर गर्नु गरिनु उपयुक्त एवं संस्थागत हुने हुनाले, जापानमा गई वैदेशिक रोजगारी गरी बस्ने याक्थुङ (लिम्बू)हरुद्वारा सदिच्छा स्वरुप स्वेच्छिक संकलित रकम नेपालमा याक्थुङ समुदायका गरीब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति, घरेलु कृषि तथा र लिम्बू एवम लिम्बुवान सम्बन्धी खोज कार्यको लागि विद्वतवृत्तिमा आर्थिक सहयोग र सरकारी विद्यालयबाट प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने लिम्बु एक छात्र र एक छात्रालाई हरेक वर्ष रु दश÷दश हजार नगद सहित प्रशंसा पत्र प्रदान गरी सहयोग पुरयाउने अभिप्रायले किरात याक्थुङ चुम्लुङको विधान, २०४६ को धारा ६० (क) अन्तर्गत “याक्थुङ सहयोग कोष” २०६२ सालमा स्थापना गरी क्रियाशील रहेको छ ।
कोषको उद्देश्यहरु
क) गरीब तथा जेहेन्दार याक्थुङ विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्ने ।
ख) गरीब याक्थुङ परिवारजनहरूमा घरेलु, कृषि तथा पशुपालनमा आर्थिक सहयोगगर्ने ।
ग) लिम्बू तथा लिम्बुवान सम्बन्धी अनुसन्धानको कार्यमा आर्थिक सहयोग गर्ने ।
घ) सरकारी विद्यालयबाट प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने लिम्बु एक छात्र र एक छात्रालाई हरेक वर्ष रु दश÷दश हजार नगद सहित प्रशंसा पत्र प्रदान गरी सहयोग गर्ने ।
कोषको कामहरु
क) गरीब तथा जेहेन्दार याक्थुङ विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्ने मापदण्ड निर्धारण गरी वितरण गर्ने गराउने ।
ख) गरीब याक्थुङहरूलाई घरेलु, कृषि तथा पशुपालनमा आर्थिक सहयोग गर्ने मापदण्ड निर्धारण गरी सहयोग उपलब्ध गर्ने गराउने ।
ग) लिम्बू तथा लिम्बुवान सम्बन्धी अनुसन्धानको कार्य गर्न मापदण्ड निर्धारण गरी विद्वतवृत्ति वितरण गर्ने गराउने ।
घ) सरकारी विद्यालयबाट प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने लिम्बु एक छात्र र एक छात्राको पहिचान गरी पुरस्कार र प्रशंसा पत्र प्रदान गराउने ।