2018-12-31

किरात सिरिजङ्गा पुस्कार र उदयकला पुरस्कार प्रदान

मिति २०७५ पुस ५, ललितपुर ।

किरात याक्थुङ चुम्लुूद्वारा सञ्चालित दुई पुरस्कारहरु किरात सिरिजङ्गा पुस्कार २०५१ र उदयकला पुरस्कार २०५२ को यस वर्ष येले तङ्वे ५०७८ तदनुसार वि.सं. २०७५ सालमा क्रमशः धनकुटा जिल्ला निवासी श्री धनहाङ सुब्बाको कृति “लिम्बू लोकवार्ता” लाई र श्री झुमा लिम्बूको कृति “खासाम्” लाई प्रदान गरिएको छ ।

मिति २०७५ पुस ५ गते ललितपुर चुम्लुङ हिममा आयोजित एक विशेष समारोह बीच नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गंगा उप्रेतीको हातबाट उक्त पुरस्कारहरु वितरण गरियो । उक्त कार्यक्रममा अध्यक्षता योगराज लिम्बु वनेम, छनौटको विषयमा सहप्राध्यापक एवम् संयोजक बालकृष्ण माबुहाङ, सञ्चालन सचिव यासेली योङहाङ, पुरस्कार बारे महासचिव निरन्ती तुम्बापोले बोल्नुभएको थियो । साथै दुवै पुरस्कार प्राप्त गर्नुहुने महानुभावहरुबाट आआफनो क्षेत्रमा थप योगदान गर्ने प्रतिबद्धतासहित आआफनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

किरात याक्थुङ चुम्लुङ, याक्थुङ युवा मञ्च र लिम्बु विद्यार्थी मञ्चको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको मिडिया पार्टनर गोर्खा एफएम ९३ मेगाहर्ज पूर्वका एफएमहरु रहेको थियो ।

कृति छनौटका लागि श्री बालकृष्ण माबुहाङको संयोजकत्वमा प्राज्ञ अमर तुम्याङ, अधिकृत राम मादेन, गायिका मनु नेम्बाङ, सदस्य सचिवको रुपमा कियाचुका उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेन रहनुभएको संयुक्त पुरस्कार निर्णायक समिति बनेको थियो । उक्त समितिले छनौटको क्रममा कृतिमा लिम्बू मौलिकताको समावेश हुनु, कृतिले बोकेको मुख्य सन्देश महत्वपूर्ण हुनु, कृतिले उजागर गर्न खोजेको विषयवस्तुमा प्रष्टता र गहनता छ हुनु, कृति खोजमूलक हुनु, कृति निर्माणमा प्रयोग भएको कुशलता र भाषा एवम् शैलीमा समृद्धता हुनु, कृतिको लोकपृयता र कृतिको सर्जक व्यक्तिको यस क्षेत्रमा योगदानको निरन्तरता रहनु जस्ता आधारहरु तय गरेको थियो ।