विभूतिहरुसँग सम्बन्धित रेडियो कुराकानी प्रसारण सम्पन्न

काठमाडौं ।
यस वर्ष हाम्रा राष्ट्रिय विभूतिहरु फाल्गनुन्द लिङदेन (१३४औं), शिरिजंगा सिंथेबे (३१४औं) र इमानसिं चेम्जोङ (११६औं) जयन्तीको अवसर पारेर प्रत्येक विभूतिहरुसँग सम्बन्धित रेडियो कुराकानी कार्यक्रम निर्माण गरी काठमाडौं उपत्यका र पूर्व लिम्बुवानको इलाम, पान्थर, ताप्लेजुङ, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, झापा जिल्लाहरुको स्थानीय एफएमहरुमा प्रसारण सम्पन्न गरेकाछौं । काठमाडौं उपत्यकामा गोर्खा एफएम ९३ सँगको मिडिया पार्टनरसीपमा रेकर्डिङ तयार पारी गोर्खा र स्थानीय एफएम स्टेशनहरुको सहयोग समन्वयमा क्रमशः कात्तिक २५ गते, पुस ७ गते र पुस १७ गते प्रसारण भएको थियो ।
किरात याक्थुङ चुम्लुङ, लिम्बु विद्यार्थी मञ्च र याक्थुङ युवा मञ्चको संयुक्त पहलमा सम्पन्न यी रेडियो कुराकानी कार्यक्रमहरु मार्फत हाम्रा विभूतिहरुको योगदानको चर्चाहरुलाई करिब १० हजार भन्दा बढी श्रोताहरु माझ पुरयाउन सफल भएकाछौं जो बृहत कभरेज हो । यसलाई हामीले फरक, सृजनात्मक र उत्साहजनक काम भएको अनुभुति गरेकाछौं ।
फाल्गुनन्द जयन्तीको छलफलमा मुन्धुम दर्शन ब्याख्यता डा. चैतन्य सुब्बा, मानवशास्त्री डा. डम्बर चेम्जोङ र अभियन्ता रमेश लिङदेनसाथ प्रस्तोतामा चुम्लुङ केन्द्रीय सचिव यासेली याङहाङ सहभागी हुनुहुन्थ्यो । शिरिजंगा जयन्तीको छलफलमा हज्सन पाण्डुलिपि अध्येता एवम् शिरिजंगाको बारेमा लेखक इतिहासकार प्रा.डा. रमेश ढुङ्गेल र चुम्लुङ पूर्व अध्यक्ष अर्जुन लिम्बुसाथ प्रस्तोता जीवन लिम्बु हुनुहुन्थ्यो । त्यसैगरी इमानसिं जयन्तीको छलफलमा चेम्जोङको जीवनीमा प्रथम लिम्बु महाकाव्यकार प्राज्ञ अमर तुम्याङ र चेम्जोङका कान्छा छोरा अप्रा सहायकरथी मोहनसिं चेम्जोङसाथ प्रस्तोतामा पुनः यासेली योङहाङ हुनुहुन्थ्यो । यी प्रत्येक कार्यक्रमहरुलाई क्रमशः चुम्लुङको यासेली योङहाङ, विद्यार्थी मञ्चका महासचिव उत्सव सम्बाहाङफे र युवा मञ्चका अध्यक्ष भुपेन्द्र खुदाङले गोर्खा एफएमसँग निर्माण संयोजन समन्वय गर्नुभएको थियो ।