इमानसिं चेम्जोङ पुस्कार प्रदान

मिति २०७५ पुस १७ गते, ललितपुर चुम्लुङ हिम ।
किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिद्वारा सञ्चालित इमानसिं चेम्जोङ पुस्कार २०५४ यस वर्ष येले तङ्वे ५०७८ तदनुसार वि.सं. २०७५ सालको लागि दुई स्रष्टाहरु कवयित्री राधिका हुक्पा चोङबाङ्को कविता संग्रह कृति “थप्पारा” र कवि पुष्पहाङ लोवाको कविता संग्रह कृति “तङ्अम्भुङ्” लाई संयुक्तरुपमा प्रदान गरिएकोे छ । किरातोलोजिष्ट इमानसिंह चेम्जोङको ११६ औं जयन्ती समारोहमा प्रमुख अतिथि शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट उक्त पुरस्कारहरु वितरण गरिएको हो । पुरस्कृतहरुलाई जनही दोसल्ला, तागा, फुलमाला, सिलामसाक्मा, प्रमाणपत्र र नगद प्रदान गरिएको थियो । पुरस्कृतहरुले आआफनो क्षेत्रमा अझ उत्साहित भएर लाग्ने बताउनुभएको थियो ।
कृति छनौटका लागि श्री बालकृष्ण माबुहाङको संयोजकत्व प्राज्ञ उपप्राध्यापक अमर तुम्याङ, अधिकृत राम मादेन, गायिका मनु नेम्बाङ र सदस्य सचिवको रुपमा चुम्लुङ उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेन रहनुभएको पुरस्कार निर्णायक समिति बनेको थियो । उक्त समितिले नियमावली अनुसार आवश्यक प्रकृया पुरा गरी वि.सं. २०७५ पुष १२ गते एक बैठक बसी पुरस्कार छनौटको अन्तिम निर्णय गरी चुम्लुङमा सिफारिस गरेको थियो । समितिले कृति छनौट हुनुका आधारहरुमा दुबै कृतिमा लिम्बू मौलिकताको समावेश हुनु, दुबै कृतिले बोकेको मुख्य सन्देश महत्वपूर्ण हुनु, दुबै कृतिले उजागर गर्न खोजेको विषयवस्तुमा प्रष्टता र गहनता रहनु, कृति खोजमूलक हुनु, कृति निर्माणमा प्रयोग भएको कुशलता र भाषा एवम् शैलीमा समृद्धता हुनु, दुबै कृतिको सर्जक व्यक्तिको यस क्षेत्रमा योगदानको निरन्तरता र लगाब बलियो रहनुलाई मानेको थियो ।
पुरस्कार वितरण समारोहमा चुम्लुङ उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनले पुरस्कार स्थापना र पुरस्कारको बारेमा, पुरस्कार निर्णायक समितिको सदस्य प्राज्ञ उपप्राध्यापक अमर तुम्याङले पुरस्कृत कृति एवम् व्यक्तित्वहरुको बारेमा बोल्नुभएको थियो । इतिहासकार प्रा.डा. टेकबहादुर श्रेष्ठ सहित लिम्बु गन्यमान्यहरु, समितिका सल्लाहकार पदाधिकारी तथा सदस्यहरु, चेम्जोङ परिवारको राम्रो उपस्थितिमा सम्पन्न उक्त समारोहको अध्यक्षता अध्यक्ष योगराज लिम्बु र संचालन सचिव यासेली योङहाङले गर्नुभएको थियो ।