2019-05-03

राष्ट्रिय चुम्लुङको निर्णयहरु जानकारी

२०७५ चैत १५ गते ललितपुर । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयको आयोजनामा हालै सम्पन्न २२ औं राष्ट्रिय चुम्लुङको निर्णयहरु जानकारी गराउन तथा काठमाडौं उपत्यकामा उपलब्ध थरगत संस्थाहरु सहित अन्य लिम्बुजन्य संघसंस्थाहरुको प्रतिनिधिहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सचिवालय सदस्य एवम् पूर्व महासचिव गोविन्द आङबुङ, उपाध्यक्षद्वय प्रेम येक्तेन र कमल तिगेला तथा अध्यक्ष योगराज लिम्बु वनेमको प्रस्तुति रहेको थियो ।

त्यसैगरी विभिन्न मितिहरुमा महासचिव निरन्ती तुम्बापो, सचिव योगेन्द्र पालुङवा, सचिव चन्द्र आङदेम्बेको उपस्थितिमा ताप्लेजुङ र पान्थर, मोरङको विराटनगर, उपाध्यक्ष कमल तिगेला लगायत महासचिव तुम्बापोको उपस्थितिमा सुनसरी इटहरी, केन्द्रीय सदस्य सञ्जु सम्बाहाङफेको प्रस्तुतिमा तेह्रथुममा उक्त राष्ट्रिय चुम्लुङको निर्णयहरु जानकारी गराउने कार्यक्रमसम्पन्न भएका छन् । यस कार्यक्रमले चुम्लुङले उठाएको लिम्बुवान आन्दोलनको बाटो, किरात धर्म, समसामयिक सवालहरु, संस्थागत सोच तथा कार्यशैलीहरुको सम्बन्धमा स्पष्ट पार्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो ।