लिम्बु–अंग्रेजी–नेपाली अनलाइन डिक्सनेरी सार्वजनिक

२०७५ चैत ३० गते, काठमाडौं । सजिलो न्युज एण्ड मिडियाद्वारा निर्माण गरेको राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिलो पटक लिम्बु–अंग्रेजी–नेपाली अनलाइन डिक्सनेरी सार्वजनिक गरिएको छ ।
रिपोटर्स क्लब काठमाडौंमा लिम्बु विद्यार्थी मञ्च, सजिलो न्युज र किरात याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा मोवाइल एप्लिकेशन उद्घाटन समारोह गर्दै सार्वजनिक गरिएको हो । भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, प्राज्ञ अमर तुम्याहाङ, प्रा. बालकृष्ण माबोहाङ र पत्रकार ऋषि धमलाले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले लिम्बु भाषालाई संरक्षण गर्नको निमित्त राज्यले बहुभाषिक नीति लागु गर्ने बताउँदै सरकारले सोहीअनुसार पाठ्यक्रम निर्माण गरिरहेको जनाए । उनले सजिलो न्यूजमार्फत् भाषाको अनलाईन सार्वजनिक गरिएकोमा खुशी व्यक्त गरेका छन् । बालकृष्ण माबोहाङले भाषालाई संरक्षण गर्न, अझै प्रभावकारी रुपमा प्रयोगमा ल्याउन लिम्बु भाषालाई सरकारी कामकाजको भाषामा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवम् किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष प्रेम येक्तेनले भाषा आयोग र अहिलेसम्म गठन भएका आदिवासीलगायतका आयोगहरुलाई असफल तुल्याउन वर्तमान सरकार लागिपरेको आरोप लगाए ।
हरेक हप्ता संसारमा दुईवटा भाषा लोप भइरहेका बेला लिम्बू भाषालाई लोप हुन नदिनका लागि तीन महिनालगाएर एप्लिकेशनको बिकास गरिएको डिक्सनरी निर्माणकर्ता हर्कजङ्ग कुरुम्बाङले बताए । डिक्सनरीमार्फत् संसारको सबै स्थानमा रहेका मानिसले लिम्बू भाषाका पढ्न र शब्दको अर्थ नेपाली अग्रेजी र लिम्बू भाषामा पाउनेछन ।