2019-07-01

‘याक्थुङ ज्ञान महोत्सव’ सम्पन्न

‘बौद्धिक ज्ञान आदानप्रदान र पुस्तान्तरणको लागि’ भन्ने मूल नाराको साथ २०७६ जेठ २४ र २५ गते नाचघर, जमल, Kathmandu मा याक्थुङ युवा मञ्च केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘याक्थुङ ज्ञान महोत्सव’ सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको सम्पूर्ण सेसनको छलफल, बहस तथा प्रस्तुति कार्यक्रमहरु युट्युर्व मार्फत सार्वजनिक छ । युटयुर्व मार्फत खोज्नु पर्दा channel Name : Yakthung Youth Forum or click the link https://www.youtube.com/channel/UChAm_kQtAJ8P-Zoxka70vZg अथवा Yakthung Knowledge Festival सर्च गरी भेट्न सक्नु हुनेछ । उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमबाट महोत्सवमा छलफल हुने शीर्षकहरुमा चुम्लुङको दृष्टिकोण राखिएको थियो । जसलाई निम्नानुसार प्रस्तुत थियो ।

याक्थुङ ज्ञान महोत्सव २०७६ २०७६ जेठ २४ र २५ काठमाडौं

— योगराज लिम्बु वनेम

Knowledge is power : Francis Bacon

ज्ञान नै शक्ति हो भन्ने भनाई प्रख्यात छ । आज हामी युवा मञ्चले आयोजना गरिरहेको ज्ञान महोत्सवमा छौं । त्यसैले हामी ज्ञान मात्र बाँडिरहेको छैनौ, शक्ति निर्माण पनि गरिरहेकाछौं । यसको लागि युवा मञ्च धन्यवाद र प्रशंसाको पात्र हुनुहुन्छ । आगामी नेतृत्वको नर्सरी भन्नु नै युवा विद्यार्थी हुन् । युवा विद्यार्थी सृजनशील, उर्जाशील र चेतनशील हुन्छन् । र त हामी यो वर्गसँग सहकार्य, प्रोत्साहनमा लागेकाछौं । आजको कार्यक्रम यसैको परिणाम मान्दछौं ।

‘आजसम्म च्याब्रुङ र गीतहरुमा धेरै नाच्यौं । तर चेतना निर्माणसँग जोडिएर धेरै काम भइरहेको छैन हाम्रो समाजमा । च्याब्रुङ बजाएर नाच्दा रमाउछौ तर च्याब्रुङ बनाउन दिदैनन् भनेर बुझिरहेको छैनौं ।’ भन्ने युवा मञ्चको अध्यक्ष भुपेन्द्र खुदाङको सरल भाषाको भनाईले नै यो ज्ञान महोत्सवको उपादेयता बुझन सक्दछौं । हो हामी चेतना अर्थात ज्ञान निर्माण, सम्प्रेषणमा लाग्नु अत्यन्त जरुरी छ ।

मुन्धुम 

मुन्धुम हाम्रो जीवन र जगतलाई हेर्ने दर्शन हो । हामीले गरिरहेका धार्मिक सांस्कृतिक अनुष्ठानहरुको यसैमा आधारित छन् । यसलाई जोगाई राख्न श्रोतहरुको अभिलेखन र अभ्यासकर्मीहरुलाई प्रोत्साहन, सहयोग र समन्वय गर्नु जरुरी छ । चुम्लुङले शुरुवाती समयमा याक्थुङ मुन्धुम माथिको बहस, गोष्ठी, अनुष्ठानहरुको अभ्यास जस्तो कि सार्वजनिक स्थल एवम् सामुहिकरुपमा तङसिङ आयोजना, पुजाआजा, मुन्धुमका अंशहरुको प्रकाशनका गतिविधिहरु गर्नु यसैमा लक्षित छन् ।

लिम्बुवान आन्दोलन

लिम्बुवान आन्दोलनको सन्दर्भमा चुम्लुङले लिम्बुवान साझा सञ्जाल २०६४ भदौ, संयुक्त लिम्बुवान मोर्चा नेपाल २०६५ साउन, संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समिति २०६८ चैत, लिम्बुवान संयुक्त संघर्ष समिति २०७२ भदौ को निर्माण, सहयोग र समन्वय गर्न आधारभुत भूमिका खेलेको हो । यस सन्दर्भमा भएका बृहत राजनैतिक अन्तरक्रिया कार्यक्रम, जनजागरण अभियान, ऐतिहासिक प्रतिनिधिमण्डल, लिम्बुवानवासीहरुको समर्थन र ऐक्यबद्धतामासम्मेलन महत्वपूर्ण इभेन्टहरु थिए । हाल लिम्बुवान प्राप्तिको सन्दर्भ लामो र कडा मिहनेतको विषय बनेको देखिन्छ । वर्तमान अवस्थामा लिम्बुवान आन्दोलनको विषयमा हामी यो दृष्टिकोण राख्दछौं कि वर्तमान नेपालको राजनीतिक अवस्था, संघीय संसद, प्रदेश संसदको प्रतिनिधित्व चित्र, मतदानको स्थिति,, राजनीतिक शक्ति सन्तुलन, आन्दोलनको मनस्थिति र जनताको बुझाई, पहिचान र अधिकार सम्बन्धी मनोविज्ञानलाई विश्लेषण गर्दै लिम्बुवान प्राप्ति आन्दोलनलको लागि नयाँ ढंगले अगाडि बढ्न आवश्यक छ । यसको लागि किरात याक्थुङ चुम्लुङले जागरणको पक्षमा काम गर्ने, समन्वयकारी भुमिका निर्वाह गर्न सक्दछ । आन्दोलन र राजनीतिक संघर्षका लागि पहिचानवादी एवम् लिम्बुवान सम्बद्ध राजनीतिक दलहरुले बृहत मोर्चा बनाई नेतृत्व गर्ने गरी अघि बढनुपर्दछ ।

लिम्बु भाषामा शिक्षा 

लिम्बु भाषामा शिक्षा चुम्लुङले भाषिक क्षेत्रमा शुरुवाती र फैलावटको आम काम गरेको छ । २५ वर्ष अघि किरात शिरिजंगा लिपि र लिम्बु भाषामा अनौपचारिक शिक्षाको लागि तरङ १ र २ को पठनपाठन शुरुवात भयो । औपचारिक शिक्षा तर्फ आनी पान पुस्तक कक्षा १ देखि ६ सम्म पुगी विद्यालयहरुमा ठूलो फैलावट भएको छ । यसको पाठयक्रम र पुस्तक निर्माणमा पाठयक्रम विकास केन्द्र सानो ठिमीसँग मिली चुम्लुङले ऐतिहासिक काम गरेको छ । बहुभाषिक शिक्षा, मुन्धुम शिक्षा, माध्यम भाषाको रुपमा शिक्षा आदि पछिल्ला विभिन्न रुपहरुमा शिक्षामा काम भएका छन् । उच्च शिक्षाको लािग त्रिभुवन विश्वविद्यालयमा आइए तह र उच्च माध्यमिक शिक्षा परिषदमा कक्षा ११ र १२ को पाठयक्रम बनाएर दिएका थियौं जो उच्च शिक्षाको सन्दर्भमा अग्रगामी कामहरु भएका थिए ।

शिक्षामा प्रदान गरिने छात्रवृत्तिहरुको लागि विभिन्न अक्षय कोषहरु विगत २० वर्ष अघिदेखि चुम्लुङमा खडा भएका छन् जसबाट लिम्बु छात्रछात्राहरु प्रोत्साहित भएका छन् ।

भूमि अधिकार र आदिवासी हक अधिकार आई.एल.ओ महासन्धी १६९ र आदिवासी अधिकारका लागि संयुक्त राष्ट्र संघको घोषणा पत्रमा उल्लेखित आदिवासी भूमि अधिकारलाई उपभोग गर्ने, लिम्बुवान स्वायत्तता, स्वशासनको अभ्यास गर्ने र यसका लागि बृहत रुपमा अभियान संचालन गर्ने अवधारणा पत्र तयार गरी अघि बढेकाछौं ।

परम्परागत संस्था चुम्लुङलाई पुनर्जीवित गर्दै संस्कार संस्कृति र प्रथाजनित न्याय प्रणालीलाई प्रोत्साहित गर्ने सोच तथा संगठन निर्माणमा हामी लागेकाछौं । यसको लागि हाम्रा थरगत, थुमगत संस्थाहरुसँग सहकार्य गर्ने प्रयास गरिरहेकाछौं ।

लिम्बु महिला सहभागिता पहुच लिम्बु संस्कृतिले महिलाहरुलाई महत्वपूर्ण र फराकिलो स्थान दिएको छ तर सार्वजनिक क्षेत्रहरुमा सहभागिता र सकृयता सो अनुरुप देखिदैन । यसको सुधारको लागि संगठन, नेतृत्व विकास, पहुच र नियन्त्रण अभिवृद्धिमा जोड दिनु आवश्यक छ भने बनेका संगठनहरु जस्तो कि मांगेना चुम्लुङ पनि अपेक्षाकृत सकृय हुन जरुरी छ ।

लिम्बु भाषा र साहित्य ः अवस्था, सम्भावना र चुनौतीहरु

लिम्बु भाषा साहित्यमा व्यक्तिगत पहलमा अत्यन्तै धेरै कामहरु भएका छन् साथै संगठित ढंगले पनि । हामी लिम्बु भाषा साहित्य प्रतिष्ठान मार्फत यस क्षेत्रमा काम गरिरहेकाछौं । चुम्लुङबाट आयोजित विभिन्न लिम्बु भाषा साहित्य गोष्ठीहरु मानक लेखन गोष्ठीहरु, पुस्तक पत्रिका प्रकाशन गरिरहनुले यस क्षेत्रमा पुनःताजगी र उर्जा थपिरहयो । साथै भाषा, साहित्य, इतिहास, मुन्धुम, गीतसंगीत क्षेत्रमा चुम्लुङको समन्वयमा स्थापित र संचालित झण्डै ५० लाख बराबरको पुरस्कार अक्षय कोषहरु मार्फत यस क्षेत्रमा लाग्ने सर्जकहरुलाई निरन्तर प्रोत्साहित गरिरहेकाछौं ।

मातृभाषाको संरक्षण कसरी हुन्छ ? मातृभाषाको व्यापकता र दीगो संरक्षणको लागि विद्यालयहरुमा पठनपाठन, सरकारी कामकाजी भाषाको रुपमा प्रयोग र अदालती प्रयोग अपरिहार्य छ । विश्वविद्यालयमा पठनपाठनको व्यवस्था पनि जरुरी छ, जसले भाषिक प्राज्ञिक विकास र वातावरण निर्माण गर्दछ । भाषा प्रयोगको क्षेत्रहरूः रेडियो, एफएम, टीभी, पत्रपत्रिकाहरू, अनलाइन ब्लगहरु र वेभसाइटहरू, युटयुबहरू, श्रव्यदृष्य, गीतहरू, फिल्महरू, नाटकहरू, डकुमेन्ट्रीहरू प्रशस्तै बन्नुपर्दछ जसले भाषा संरक्षण दुवै गर्दछ । रेडियो नेपालमा लिम्बु भाषामा समाचार वाचनको समन्वय र आधार तयार पार्ने मञ्च चुम्लुङ नै थियो भने एफएमहरुमा लिम्बु भाषाको कार्यक्रम संचालनको शुरुवाती चुम्लुङबाट नै भएको थियो । हाल हामी जहाँ चुम्लुङ हिम त्यहाँ लिम्बु भाषामा कक्षा संचालन अभियान अघि सारेकाछौं ।

पहिचान र अधिकार

राष्ट्रिय बिदा र लोकसेवा प्रकरणले राज्यसत्ता झन् एकल जातिवादी, एकाधिकारवादी, नश्लवादी र विभेदकारी बन्दै गएको छ । यो बर्चश्वलाई चिर्न र भत्काउन अनिबार्य छ । हामीमा आएको सांस्कृतिक जागरण र चेतलाई अब राज्यसंयन्त्र तर्फ सोझयाएर राजनीतिक चेतमा परिणत गरी आन्दोलित हुनुपर्ने भएको छ । जसको लागि यस्ता ज्ञान महोत्सवले वातावरण तयार गर्दछ । यो सोचको लागि पहिचान र अधिकारका सम्बन्धी प्रशिक्षण र अभियानहरु गाउँपालिका केन्द्रीत गरी कार्यक्रमहरु लानुपर्दछ । त्यसैगरी राजनीतिक नेतृत्व विकासको लागि विविध पाटोबाट प्रोत्साहित गर्नुपर्दछ ।

 

धर्म बारे बहस

लिम्बु समुदायमा धर्म बारे बहस लिम्बु समाजमा धर्मको नामाकरणको सम्बन्धमा बहस छ । लिम्बु समाजभित्र संस्कार र संस्कृतिहरुमा देखिएको आआफनोपन् वा भनौ विविधतालाई १० लिम्बुवान १७ थुमको रीतिथिति अनुसार भनेर हिजैदेखि आमरुपमा एकापसमा स्वीकारिएको विषयवस्तु हो । धर्म आस्था व्यक्तिगत कुराहरु हुन् जो उसको अभ्यास, अनुभूति र स्वीकारोक्तिमा भर पर्दछ । हाम्रा संस्थागत विचारहरु उनीहरुको लागि कुनै विशेष बखत निर्णय गर्ने आधार मात्र बन्न सक्दछ । यस सन्दर्भमा हाम्रो चुम्लुङको धारणा यस प्रकार छ — किरात धर्मको मूल मर्म र मुन्धुमको सारतत्व नै तागेरा निङवाभू माङ हो । किरात धर्मको दर्शन नै मुन्धुम हो जहाँ जीवन र जगत व्याख्या हुन्छ । किरात धर्मको दर्शन मुन्धुम भएकोले मुन्धुममा वर्णित मुन्धुमीय आधारमा कर्मकाण्डिीय अनुष्ठानहरुका साथ फेदाङमा, साम्बा, येवा, युमा, सेवासावा आदिले गर्दै गराउँदै आएका कार्य नै किरात याक्थुङ चुम्लुङले अवलम्बन गरेको ‘‘किरात धर्म’’ हो । धर्मको व्याख्या विश्लेषण आ–आफना छन् । कर्म संस्कार गर्ने तौर तरिकाहरु आ—आफ्नो प्रकारका छन् । यी विविधताहरु मौलिक प्रकृति पुजक, सनातन, युमा, थेबा, सत्यहाङ लगायत विभिन्न पन्थको रुपमा चर्चा परिचर्चा हुने गर्दछन् । यी विविधतालाई समग्रमा समेट्ने गरी किरात याक्थुङ चुम्लुङले धर्मको नामाकरण गर्दा “किरात धर्म” भनी २०४९ सालको महाधिबेशनबाट पारित गरी कार्यान्वयनमा ल्याएकोे छ । राई, सुनुवार, याख्खा, थामी, जिरेल आदिवासी समुदायले तथ्याङ्क र जनगणनामा “किरात धर्म” लेखाएका छन् । यसबाट नेपालमा “किरात धर्म” तेस्रो स्थानमा स्थापितभई नेपाललाई बहुधार्मिक मुलुक बनाउन सफल भएकोछ । यसरी किरात धर्म आजको दिनमा आएर जनगणनामा, राज्यस्तरमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तथ्याङ्कहरुमा परिचित, स्थापित र व्यापक भएको छ । अन्य धर्महरुमा पनि विविधताहरु पाइन्छन् र पनि तथ्याङ्क र जनगणनामा धर्मको महलमा एउटै धर्म लेख्दछन्ं । यिनै तथ्यहरुलाई आधार मान्दै लिम्बू समुदाय विविधतामा विभक्त नभई विविधता भित्रको एकतालाई सम्मान गर्र्दै, एकतामा नै अधिकार र बल हुने तथ्यलाई मध्यनजर गर्दै राष्ट्रिय जनगणना, राष्ट्रिय परिचय पत्र र तथ्याङ्कमा लेखाउँदा “किरात धर्म” लेख्न लेखाउन उपयुक्त हुने धारणा व्यक्त गर्दछ ।

मुन्धुमी, धार्मिक, साँस्कृतक सम्पदा संरक्षण सम्बद्र्धन हाम्रा महत्वपूर्ण ऐतिहासिक थातथलोको नाम अपभ्रंस भई अनर्थ भएकोमा सच्याई बोर्ड राख्न र आदिवासी लिम्बूको ऐतिहासिक, पुरातात्विक क्षेत्र र समाधिस्थल संरक्षण तथा प्रवद्र्धन लागि एक कार्यविधी तयार गर्ने प्रयासमा छौं । यस प्रसंगमा थरगत थुमगत संस्थाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले उनीहरुसँग सहकार्य खोजिरहेकाछौं ।

लिम्बु गीत र संगीत ः अवस्था, सम्भावना र चुनौती : लिम्बु गीत संगीतको क्षेत्रमा लिम्बु साँस्कृतिक परिषद मार्फत काम गरिरहेकाछौं । मौलिकतामा आधारित भई लिम्बु गीत संगीतलाई आधुनिक परिवेशमा रचनात्मकढंगले प्रस्तुत गर्दै युवा पंक्तिमा धेरै आकर्षण बढाउन सकिन्छ ।

सरकारी कर्मचारीमा प्रवेशको लागि लोक सेवा तयारी कक्षाहरुमा युवा विद्यार्थीहरुलाई प्रोत्साहित गर्नुपर्दछ । त्यसैगरी सेना, प्रहरी, सशस्त्र तर्फ प्रवेशको लागि पनि । यस सन्दर्भमा हामीमा एक योजना छ । बिटिस, भारतीय सेना भर्तीमा नाम ननिकालेकाहरुलाई सेना, प्रहरी, सशस्त्र तर्फ डाइर्भट गर्न सक्यौ भने उनीहरुको निराशालाई मेनेजमेन्ट मात्र होइन कि जीवन वृत्ति विकासको एक फरक क्षितिज बनाउन सकिन्थ्यो । यस सन्दर्भमा हामी सहकार्यको लागि अपील गर्दछौं ।

पहिचानको आन्दोलन आन्दोलनमा उतार चढावहरु हुन्छन् नै । पछिल्लो समय पहिचानको आन्दोलन कमजोर अवस्थामा छ तर एजेण्डा जीवित छ । यसलाई हामीले राष्ट्रव्यापी बनाउन जरुरी छ । यसको लागि हामीले बनाएको लिम्बुवान संयुक्त संघर्ष समिति झै किरात, नेवा, ताम्सालिङ, तमुवान, मगरात, थरुहट, खसान, मधेश लगायतका पहिचानमा आधारित संयुक्त संघर्ष समितिहरुको राष्ट्रिय संरचना बनाई आन्दोलनलाई सार्थक निष्कर्शमा पुरयाउन सकिन्छ । यसको लागि वैचारिक कामहरु साथै आन्दोलनकारी राजनीतिक दल, आदिवासी संगठन, अभियन्ताहरु, शुभचिन्तकहरुको भूमिका पनि प्रष्ट पार्नु जरुरी हुन्छ I

१४ जिल्लासहितको प्रदेश नं. १ हाम्रो माग थिएन तर जे भयो त्यसमा पनि पहिचान सुनिश्चित गर्ने गराउने सन्दर्भमा हामीले उक्त प्रदेशको नामाकरणमा किरात लिम्बुवान नाम राख्न सकिन्छ भन्ने संयुक्त धारणा दिएकाछौं ।

लिम्बुवानमा विभिन्न थातथलो खुलेका आदिवासी जनजातिहरु छन् । उनीहरुसँग सहकार्य र समन्वय गर्नुपर्दछ । लिम्बुवान प्रदेश प्राप्तिको लागि उनीहरुको समर्थन र सहयोग अपरिहार्य भएकोले उनीहरुसँगको नजीक एवम् विश्वासको सहकार्य अनिवार्य छ । यस तर्फ हामीले निरन्तर काम गरिरहेकाछौं पनि ।

सामाजिक सञ्चाल

हिजो आज सामाजिक सञ्जाल हाम्रो ज्ञानको श्रोत बनाइरहेकाछौं । तर यो पूर्ण छैन, पछिल्लो समय तित्ततापूर्ण छ, कतिपय अर्थमा भ्रमपूर्ण । यस प्रसंगम हामी आदिवासी लिम्बू समुदायका स्थापित व्यक्तित्वहरु, लिम्बू र लिम्बुवानका लागि अहोरात्र खटिरहेका ब्यक्ति ब्यक्तित्व, संघ संस्था र संगठनलाई सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमा आपत्तिजनक, अवास्तविक, अस्वस्थ्य र अमर्यादितढंगले लेख्ने, होच्याउने, निरुत्साहित गर्ने कुनै पनि कार्यले लिम्बू समुदायको बिकास र लिम्बूवानको राजनीति निर्माणलाई अन्ततः कमजोर पार्दछ भन्ने धारणाका सहित यस्तो कार्य नगर्न नगराउन सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुलाई अनुरोध गर्दछौं । साथै यस्तो कार्य नगरी लिम्बू र लिम्बूवानको हितका लागी कुनै पाटोबाट हुन नसकेको कामहरु पुरा गर्न अर्को पाटोबाट अझ रचनात्मक र सिर्जनात्मक कामहरु गर्न गराउन हार्दिक अपिल गर्दछौं ।

हाम्रा चुम्लुङ हिमहरु जस्ता भौतिक संरचनाहरुको निर्माणसँगै नेतृत्व, शीप, दक्षता विकासलाई समयानुकुल प्रबद्र्धन गर्दै आर्थिक सामाजिक तथा साँस्कृतिक अभियानहरु, हक अधिकार सम्बन्धी जनचेतनामुलक अभियानहरु, राजनीतिक जागरणमुलक अभियानहरु निरन्तररुपमा सञ्चालन गर्न सक्ने गरी हामी हाल प्रारम्भमा १ करोडको लक्ष्य राखी आत्मनिर्भर अक्षय कोष निर्माणमा पनि जुटेकाछौं, सोको सहयोगको लागि पनि अपील गर्दछौं ।

किरात याक्थुङ चुम्लुङले लिम्बु समाजमा निरन्तर काम गरेको ३० वर्ष पुगेको छ । संरचना र फैलावट व्यापक बनेको छ । व्यापक भएकोले नै समाजको अपेक्षाहरु अधिक छन् । तर यसको पनि आफनो सिमितताहरु छन् जसको कारण आलोचनाहरु भइरहेका छन् । हाम्रो समाजको लागि काम गर्ने संस्था, समिति, समूह, उपभोक्ता समितिहरु, कोष, प्रतिष्ठान थुप्रै बनेका छन् । त्यसैले अब चुम्लुङले आफै गर्ने भन्दा पनि सहकार्य र समन्वयमा काम गर्नुपर्ने देखिन्छ । ओभरल्यापमा होइन कि ग्यापमा काम गर्ने स्कोप खोज्नुपर्दछ ।

लिम्बुको भाषिक, साँस्कृतिक, सामाजिक आर्थिक विकास, हकअधिकारको क्षेत्रहरुमा भएका प्रगतिहरुको लेखाजोखा गर्दा कुनै न कुनै रुपमा चुम्लुङ जोडिएकै हुन्छ । किनकि यसले शुन्यबाट र सर्वत्रबाट काम शुरु गरेको थियो । एक उदाहरण बच्चाको नाम लिम्बु भाषामा राख्ने अभियानको परिणामबाट आज एक पुस्ता लिम्बु युवाहरु निर्माण भएका छन् आज ती के सोच्दा हुन् ? यसको प्रभाव अध्ययन हुनु जरुरी छ । आज जुन ज्ञान महोत्सवमा हामी छौं र छलफल गरिरहेकाछौं । मलाई चुम्लुङले सर्वत्र काम गरेको परिणामहरुको प्रभाव अध्ययन र छलफल भइरहेको अनुभूति भइरहेको छ जो हाम्रो लागि अत्यन्त गौरवको विषय ठान्दछु ।

घर खनेर आगन पुर्ने प्रवृतिलाई निरुत्साहित गरौं । दशपटक नाप्ने एक पटक काटने संयमता र होशियारी अपनाऔं । अर्कोको खुटटा काटी छोटाएर होइन आफनो काम र क्षमताले आफनो उचाई उचो बनाउने प्रयत्नमा विश्वास राखौं ।

एकल जातिवादी, एकाधिकारवादी, नश्लवादी राज्यसत्ताको हेजेमोनीबाट हामी झन् झन् प्रताडित भइरहेका छौं । यो हेजेमोनीलाई भत्काउनुछ, शक्ति सन्तुलन बदल्नुछ । शक्ति पाखुरीमा होइन कि ज्ञानमा निहित हुन्छ । पाखुरीमा शक्ति खेलाएको हामी अब राज्यसत्ताको शक्ति सन्तुलन बदल्नको लागि शक्ति पाखुरीमा होइन ज्ञानमा खोज्दै अघि बढ्न बान्छनीय भएको छ । यस्ता महोत्सवहरुले हामीलाई सदा यस तर्फ अभिप्रेरित गरिरहुन् ।

धन्यवाद सेवारो ।