कक्षा ६ को आनीपान पाठयपुस्तक छपाई माग

मिति २०७६ असोज १६ गते किरात याक्थुङ चुम्लुङको एक प्रतिनिधिमण्डलले भक्तपुर सानोठिमीस्थित पाठयक्रम विकास केन्द्रको महानिर्देशक लेखनाथ पौडयालसँग भेटी लिम्बु भाषाको आनी पान पाठयपुस्तक कक्षा ६ देखित माथि पठनपाठन लागू गर्न र पुस्तक छपाईको माग गर्दै एक पत्र बुझाएको छ ।
उक्त माग पत्रमा ‘बहुभाषिक शिक्षा अन्तरगत विषयगत रूपमा पठनपाठन भइआएको लिम्बू भाषाको आनि?पाःन् विषयको कक्षा १ देखि ५ सम्मकोपाठ्यपुस्तक २०५८ मा लेखि र छापी सकिएको अवस्था हो र पूर्वमा विभिन्न विद्यालयहरुमा पढाई भइरहेको अवस्था हो । मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक विकासका लागि मार्गदर्शन पुस्तिका आधारभूत तह (कक्षा ६–८) २०७० समेत पाठ्यक्रम विकास केन्द्रले निर्माण गरी आनीपान कक्षा ६ को पाठयक्रम समेत बनिसकेको छ तर उक्त भाषाको पाठ्यपुस्तक छापिएको छैन । पूर्वका ताप्लेजुङ, पान्थर, इलाम, झापा, तेरथुम, सङ्खुवासभा, धनकुटा, सुनसरी, मोरङ जिल्लाहरुमा छरिएर रहेको लिम्बू भाषी विद्यार्थीहरुका लागि कक्षा ६ को पाठ्यपुस्तक माग आएको हुदाँ माथि उल्लेखित पाठयपुस्तक छपाई गरिदिन हुन’ भनिएको छ । महानिर्देशकसँग भेट अघि पाठयक्रम अधिकृत पुरुषोत्तम घिमिरेसँग जानकारी लिने काम भएको थियो ।
प्रतिनिधिमण्डलमा अध्यक्ष योगराज लिम्बु वनेम, उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेन, भाषाविद् येहाङ लावती, केन्द्रीय सदस्य भवानी सम्बाहाम्फे, याक्थुङ युवा मञ्चका अध्यक्ष भुपेन्द्र खुदाङ, ललितपुर अध्यक्ष रामबहादुर बखिमको सहभागिता रहेको थियो ।