लिम्बुवान–किरात नामाकरण अन्तरक्रिया सम्पन्न

लिम्बुवान–किरात नामाकरण अन्तरक्रिया सम्पन्न
मिति २०७६ फागुन ३ गते शनिबार काठमाडौ अनामनगरस्थित युनियन हाउसको सभाहलमा प्रदेश नं. १ को नाम लिम्बुवान किरात बनाउनको लागि राजनीतिकर्मी, लिम्बुवानजन्य नेताहरु, अभियन्ताहरु बीच अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा सकृय नेताहरु सम्मिलित लिम्बुवान किरात संयुक्त संघर्ष समितिको उपत्यका समितिद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा लिम्बुवान किरात नामाकरणको लागि प्रदेश नं. १ को मुख्यमन्त्री, सभामुख, प्रदेश सभा सदस्यहरुलाई हाल सदन बसिरहेको सन्दर्भमा पुनः प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्दछ भनी ज्ञापन पत्र बुझाएको बारेमा सम्पूर्ण सहभागीहरुलाई जानकारी दिदै सबै पक्षहरुलाई सकृय हुनको लागि आग्रह गरिएको थियो ।
उक्त आग्रह उक्त ज्ञापन पत्र बुझाउने नेताहरु लिम्बुवान राष्ट्रिय मोर्चा नेपाल (नेकपा सम्बद्ध), लिम्बुवान राष्ट्रिय समिति (समाजवादी सम्बद्ध), संघीय लिम्बुवान राष्ट्रिय मञ्च (संघीय मञ्च सम्बद्ध)का नेताहरु क्रमशः संयोजक मुक्सामहाङ मेन्याङबो, अध्यक्ष खगेन्द्र माखिम, अध्यक्ष कुमार लिङदेनहरुले आआफनो मन्तव्य राख्नुभएको थियो । यो अभियानले सकारात्मक र संगठित सन्देश दिएको सबै सहभागीहरुले अनुभव व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रतिनिधिसभाका माननीय भवानी खापुङ, माननीय यज्ञराज सुनुवारले एकताबद्ध भएर संघर्ष भएमा पहिचानजनित नामाकरण हुने सम्भवाना हुने तर एक हुनुपर्ने र एजेण्डालाई अझ एक बनाउनुपर्ने बताउनुभयो । त्यसैगरी उक्त अन्तरक्रियामा नेवा ताम्सालिङ संघर्ष समितिको अनुभवहरु संयोजक जय गोले, भगवान शाक्य, खसान राष्ट्रिय संघर्ष समितिका अध्यक्ष प्रेम बहादुर खाती, देव रोकया, टिएमएनसीका सीएन थारुले राख्नुभयो । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले आफनो एजेण्डा केही फरक भए पनि पहिचान सम्बद्ध नामाकरणले आन्दोलनलाई अझ सशक्त बनाउने बताउनुभयो । संविधानसभाको सदस्य ध्रुव आङदेम्बे, नेकपा सम्बद्ध आदिवासी जनजाति संघका नेतृ दुर्गा राई, महिला नेतृ होमकुमारी खापुङ, लिम्बु विकलहरुको संघका अध्यक्ष अभिवक्ता थाइन्द्र आङबुहाङ, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष दीपा लक्सम, बुद्धिजीवि डा. युवराज लिम्बु, येहाङ लावतीले मन्तव्य राख्नुभयो ।
उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमले समन्वय मन्तव्य एवम् टिपोट, लिम्बुवान मोर्चाका सहसंयोजक त्रिवेणी चोङबाङले कार्यक्रम सञ्चालन, विज्ञप्ती दृष्टिकोण बाचन शंखध्वज नेम्बाङले गर्नुभएको थियो । स्मरण रहोस् लिम्बुवान किरात संयुक्त संघर्ष समितिमा किरात याक्थुङ चुम्लुङ, लिम्बुवान राष्ट्रिय मोर्चा नेपाल (नेकपा सम्बद्ध), लिम्बुवान राष्ट्रिय समिति (समाजवादी सम्बद्ध), संघीय लिम्बुवान राष्ट्रिय मञ्च (संघीय मञ्च सम्बद्ध), किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, लिम्बुवान स्प्रीङ आन्दोलन, लिम्बु विद्यार्थी मञ्च, याक्थुङ लेखक संघ, याक्थुङ युवा मञ्च, किराती राष्ट्रिय मोर्चा संगठनहरुको सहभागिता रहेको छ ।