2020-09-07

२३ औं राष्ट्रिय चुम्लुङको उद्घाटन समारोह

national chumlung 23rd opening

२३ औं राष्ट्रिय चुम्लुङको उद्घाटन समारोह

मिति २०७६ फागुन १६ गते लिम्बुवान, झापा जिल्ला, विर्तामोडबजार, अतिथिसदनको सभाहलमा किरात याक्थुङ चुम्लुङको २३ औं राष्ट्रिय चुम्लुङको एक विशेष समारोह बीच उद्घाटन समारोह सम्पन्न भएको छ । उक्त समारोहमा प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय बसन्त कुमार नेम्बाङबाट लिम्बुको सांस्कृतिक बाजा “के” बजाएर उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाङफेलाई र कियाचु इजरायललाई कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोष अन्तर्गत “चुम्लुङ गौरवशाली सहयोगदाता सम्मान पत्र”हरु दुवैलाई हस्तान्तरण गर्नुभयो । सोही समारोहमा लिम्बु भाषा र नेपालीमा विगत २५ वर्षदेखि प्रकाशति हुदै आएको तान्छोप्पा पत्रिकाको झापा बजार व्यवस्थापक गुमानसिं सम्बाहाङफेलाई पनि उत्कृष्ट बजार व्यवस्थापकको रुपमा सम्मान गर्नुभएको छ ।

उक्त समारोह शुरु हुन अघि लिम्बु साँस्कृतिक संक्षिप्त रयाली सहित प्रमुख अतिथिको स्वागत गरिएको थियो । चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा राजनीतिज्ञ, आदिवासी जनजाति नेताहरु, स्थानीय बुद्धिजीविहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कियाचु झापा जिल्लाको व्यवस्थापनमा, फागुन १६ र १७ गते चल्ने उक्त २३ औं राष्ट्रिय चुम्लुङमा लिम्बुवान क्षेत्र र काठमाडौं उपत्यका लगायतका १३ जिल्ला समितिहरु, २ प्रदेश समितिहरु लगायत विभिन्न लिम्बुजन्य संस्थाहरुको प्रतिनिधिहरु उक्त राष्ट्रिय चुम्लुङ उद्घाटन समारोहमा उपस्थिति रहेको थियो ।