2020-09-10

मिति २०७७।०२।१२ गते संस्कृत विरोध विज्ञप्ति

मिति २०७७।०२।१२ गते संस्कृत विरोध विज्ञप्ति

शिक्षा मन्त्री अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्ले विक्रम संवत् २०७६।१०।२ मा गरेको निर्णय बमोजिम संस्कृत विषयलाई २०७७ को शैक्षिक सत्रबाट कक्षा १ देखि पठनपाठन आरम्भ गर्ने समाचार विभिन्न सञ्चार माध्यमबाट जानकारी हुन आएको छ । परिषद्को यस निर्णय र कार्यान्वयनप्रति लिम्बू आदिवासीहरुको संस्था किरात याक्थुङ चुम्लुङको गम्भीर ध्यान आकर्षण भएको छ ।

नेपालको संविधान, २०७२ (धारा ३१.५)ले प्रत्याभूत गरेको र राष्ट्रिय शिक्षा नीति, २०७६ (नीति १०.८) ले व्यवस्था गरे अनुसार मातृभाषाहरुमा पठनपाठनको सुव्यवस्थाका लागि पाठ्यपुस्तक र शिक्षकको प्रबन्ध गर्नुको बदलामा तिनलाई विस्थापन गर्दै मातृभाषी विद्यार्थीहरुले खस नेपाली सिक्नकै लागि झेलिरहेको समस्यामाथि जटिल सिकाइ समस्या थप्न र उनीहरुलाई पढाइबाट नै विमुख गर्न शास्त्रीय संस्कृत भाषा कक्षा १ देखि नै पढाउने सरकारको योजनाप्रति किरात याक्थुङ चुम्लुङ घोर आपत्ति प्रकट गर्दछ । संस्कृत भाषा शास्त्रीय भाषा हो र अहिले हाम्रो देशमा संस्कृत मातृभाषा भएको जनसङ्ख्या नै छैन । यस अवस्थामा संस्कृत भाषालाई कक्षा १ देखि जबरजस्त पठनपाठन गराउनाले सामाजिक न्याय र सामाजिक सद्भाव समेतमा खलल पुग्ने सम्भावना भएकाले यसलाई फिर्ता लिन सम्बन्धित निकायसँग किरात याक्थुङ चुम्लुङ माग गर्दछ ।

नेपालको संविधान, २०७२, राष्ट्रिय शिक्षा नीति, २०७६, शिक्षा ऐन २०२८ (संशोधन २०७५), अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १६९, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र, २००७ को भावना बमोजिम नेपालमा बोलिने नेपाल उद्भवका लिम्बूभाषा लगायतका सबै मातृभाषाहरुको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्नु गराउनुका साथै शिक्षक कोटाको व्यवस्था गरी मातृभाषामा पठनपाठनको व्यवस्था गर्नका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहको सरकारसँग विशेष आग्रह गर्दछ ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति