लिम्बुवान प्रदेश समितिबाट विज्ञप्ति जारी
लिम्बुवान प्रदेश समितिबाट विज्ञप्ति जारी
मिति २०७७ साउन ३१ गते, किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिले पाँचथरको हिलिहाङ गाउँपालिका ३ र ४ को संगमस्थलमा अवस्थित ‘मिलुङ’ झरनाको नामबारे केही तत्वहरुले भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेको जनाएको छ । चुम्लुङ लिम्बुवान प्रदेश समितिले, प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारीताको आवशरणमा केही तत्वहरुले ‘मि–लुङ्’ झरनाको वास्तविक नामलाई नियतवस ओझेलमा पारी अन्य नाम उल्लेख गरी अफवाह फैलाउने काम गरेको आरोप लगाएको छ ।
‘कुनै पनि स्थानको नामकरण विशिष्ट किसिमबाट हुन्छ । त्यसमा भाषा, संस्कृति, सभ्यता र भूगोलसँगको नाता झल्किन्छ । त्यसैले उपनीवेशवादीहरु जहिल्यै पनि स्थानीय भूगोलसँग आदिवासीहरुको नाता छिन्नभिन्न पार्न र चुडाउन भरमग्दुर प्रयत्न गरिरहन्छन् ।’ विज्ञप्तीमा भनिएको छ । जुनसुकै समाज, संस्कृति र माटोलाई सम्मान गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । तब मात्र सामाजिक सद्भाव र एकता कायम हुने पनि विज्ञप्तीमा भनिएको छ । यहाँको इतिहास, भूमि, सामाजिक, साँस्कृतिक पक्षलाई सम्मान गर्नुको साटो विस्थापन गर्ने दिशातिर लम्किन खोजे परिणाम सुखद नहुने चेतावनी दिइएको छ । विज्ञप्तीमा किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिका अध्यक्ष ध्रुव सुब्बा र मूख्य सचिव मधुराज केरुङले हस्ताक्षर गरेका छन् । प्राकृतिक रुपमै सुन्दर र आकर्षक उक्त झरनाको नाम भाषिक, साँस्कृतिक र ऐतिहासिक आधारमा ‘मि–लुङ्’ नै भएको आदिबासी अगुवाहरुको भनाई छ । परापूर्वकालदेखि लिम्बू जातिको बसोबास रहदै आएको झरना भएको क्षेत्र आसपासका स्थानीयले पनि झरनाको नाम मिलुङ भएको बताउदै आएका छन् ।