2021-01-17

राष्ट्रिय जनगणना कार्ययोजना बैठक सम्पन्न

मिति २०७७ असोज २ गते । नेपालमा आगामी २०७८ जेठ २५ देखि असार ८ गते राष्ट्रिय जनगणना हुन गइरहेको छ । यसलाई मध्यनजर राख्दै किरात याक्थुङ चुम्लुङले कार्ययोजना निर्माण गर्न र कार्यान्वयन गर्नको लागि संगठनभित्र जुम भर्चुअल बैठक आयोजना गरी कार्ययोजनालाई अन्तिमरुप दिएको छ । कियाचु केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा बसेको उक्त भर्चुअल बैठकमा उद्घोषण तथा सञ्चालन महासचिव निरन्ती तुम्बापो र योजनाको मस्यौदा खाका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलाबाट प्रस्तुत भयो । मस्यौदा कार्ययोजनामा २०७७ असोजदेखि असारसम्मको दश महिनामा विभिन्न कामहरुलाई विभाजन गरिएको छ । विशेषतः लिखित÷भिडियो अपील जारी, केन्द्र प्रदेश जिल्ला नगर गाउँ विषयगत पंक्तिहरुमा अनलाइन प्रशिक्षण, प्रचारात्मक गतिविधिहरु, परामर्श सहकार्य समन्वय विविध बैठकहरुको आयोजना, गाउँ नगर तहमा भौतिक प्रशिक्षण, घरदैलौ कार्यक्रम लगायतका कार्यक्रमहरु योजना गरिएका छन् । यस बैठकमा प्राप्त सुझावहरुलाई समावेश गरी कार्ययोजनालाई अन्तिमरुप दिने योजना रहेको छ ।

उक्त कार्ययोजनामाथि शिव मेन्याङ्बो झापा, शैन आङदेम्बे अध्यक्ष भक्तपुर, गायत्री थेगिम अध्यक्ष इलाम, राम बखिम अध्यक्ष ललितपुर, सागर केरुङ सदस्य पान्थर, गणेश सेनेहाङ अध्यक्ष तेह्रथुम, ध्रुव मेन्याङबो अध्यक्ष लिम्बुवान प्रदेश, डम्बर बहादुर तुम्बाहाङफे अध्यक्ष काठमाडौं, मोहन चोङबाङ अध्यक्ष सुनसरी, प्रदीप योङहाङ मुख्यसचिव नेवाताम्सालिङ प्रदेश, भीम नेम्बाङ, डा. योगेन्द्र पालुङ्वा केन्द्रीय सचिव, तेजमान कन्दङवा जिल्लासचिव तेरथुम, नरप्रसाद लिम्बु केन्द्रीय सल्लाहकार, ज्ञानु फुरुम्बो नगरसचिव ताप्लेजुङ, वीरदल नेम्बाङ प्रदेश, गोविन्द आङबुङ भूपू महासचिवले आआफनो रायसुझाव राख्नुभयो ।

बैठकका सहभागीहरुबाट संगठनको महाधिवेशन, वार्षिक बैठकबाट पारित निष्कर्शहरुलाई आधार मान्दै धारणा जारी, सञ्चार तथा वर्तमान प्रविधिहरुको अधिकतम उपयोग, युमा किरात जस्ता बहसहरुमा जिल्ला लेभलमा पनि समन्वय प्रयास, युवा विद्यार्थीहरुको साथ, संगठनभित्र फरक मत राख्ने पंक्तिहरुलाई सम्झाउने बुझाउने, संगठन विस्तार, गणकहरुको नियुक्ति तथा काममा अवलोकन, आस्था विवेक माथिको व्यवस्थापन, विदेशस्थित चुम्लुङहरुको भूमिका, धारणा राख्ने सम्बन्धमा अहिलेको अवस्थामा हाम्रो विकल्प छैन । चर्चा परिचर्चाम अलमलिनु हुदैन । बहसहरुलाई आगामी महाधिवेशनमा छलफल गर्ने, राज्यको फुटाउ र राज गर भन्ने रणनीतिबाट बच्ने, जनसंख्या एक प्रतिशतभन्दा माथि बनाउनु प्रयत्न गर्नुपर्ने रायसुझावहरु आयो ।