2021-01-22

विद्यार्थी मञ्च, युमा महासभा, उत्थान संघ अन्तरक्रिया

मिति २०७७ कात्तिक ७ गते । राष्ट्रिय जनगणना र समसामयिक सन्दर्भहरुमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयले किरात धर्म तथा साहित्य उत्थान संघ, युमा साम्यो महासभाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरु बीच जुम भर्चुअल बैठक आयोजना गरी एकापसमा छलफल गरियो । बैठकमा चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेम, किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम र युमा साम्यो महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेमले आआफनो संस्थाको धारणाहरु व्यक्त गर्नुभयो ।

बैठकलाई शुरुवात गर्दै चुम्लुङका अध्यक्ष लिम्बुले अघिल्लो जनगणनामा स्थापित गरेको, महाधिवेशन तथा वार्षिक बैठकहरुको निर्णयहरुको आधारमा तर्क, समय सन्दर्भ, बृहत क्षेत्र आकार निर्माण, भाषिक सांस्कृतिक राजनीतिक अधिकार स्थापित गर्न गराउन जनगणनाको जातजाति, मातृभाषा र धर्ममा क्रमशः लिम्बु र किरात लेखेर जाऔं भनी प्रस्ताव गर्नुभयो । साम्योका अध्यक्ष वनेमले जातजातिमा याक्थुङ लिम्बु र धर्ममा युमा लेख्ने अभियान थालेको बताउनुभयो । बाटो अलग अलग भइसकेको, कियाचुले विधान, मौलिकतामा ध्यान दिन सुझाव राख्नुभयो । उत्थान संघका अध्यक्ष थेगिमले अघिल्लो समयमा स्थापित अभिलिखित भएको कुराहरुलाई नै जनगणनामा लेखेर जान अनुरोध गर्नुभयो । तथ्याङ्कको महत्व प्रयोगलाई ध्यान दिन, फुटेर होइन जुटेर जान अनुरोध गर्नुभयो ।

अध्यक्षहरुबाट मन्तव्य राख्नेक्रम सकिएपछि दोश्रो राउण्डमा युमा साम्योका महासचिव डा. रमेश इजम, आइत खजुम, देव इजम, तुम्याङ कुल प्रसाद मेन्याङबो, उत्थान संघका केन्द्रीय उपाध्यक्ष दंगध्वोज खोयहाङ, चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेन, डा. कमल तिगेला, गोविन्द आङबुङ, महासचिव निरन्ती तुम्बापोले थप तर्क विचारहरु राख्नुभयो । सहभागीहरुले पहिचान निर्माण, पुननिर्माण, आन्तरिक मौलिकताको बारेमा जनगणनापछि छलफल गर्न र हाल तथ्याङ्कमा ध्यान दिन, राज्यको फुटाउने प्रयत्नलाई बुझनुपर्ने, भाषा जाति संख्याको राजनीति बुझनुपर्ने, आआफना विचारहरु फिल्डमा नै परीक्षण गर्न सकिने, अन्य धर्मको प्रभावहरुलाई ध्यान दिई सचेत हुनुपर्ने, समुदायको भावना, दुरदर्शितामा ध्यान दिनुपर्ने विचारहरु आदान प्रदान भयो । अन्तमा अध्यक्षहरुबाट आआफनो पुनः विचारहरु राख्दै कार्यक्रम सम्पन्न भयो । सो बैठकको अध्यक्षता कियाचु नेपालका अध्यक्ष योगराज लिम्बु वनेम, सञ्चालन महासचिव निरन्ती तुम्बापो र स्वागत एवम् विषय प्रवेश भूपू महासचिव तथा सचिवालय सदस्य गोविन्द आङबुङले गर्नुभयो ।

यसअघि मिति २०७७ कात्तिक ४ गते लिम्बु विद्यार्थी मञ्चको केन्द्रीय पदाधिकारीहरुसँग राष्ट्रिय जनगणनाको बारेमा परामर्श बैठकमा कियाचु केन्द्रीय अध्यक्ष योगराज लिम्बुले विचार राख्नुभयो । सो परामर्श बैठकमा मञ्चको केन्द्रीय सल्लाहकारसमेत रहेका चुम्लुङ अध्यक्षले तथ्याङ्कको महत्व र प्रयोगमा ध्यान दिऔं । तथ्याङको सम्बन्धमा जातजाति, मातृभाषा, दोश्रो भाषा, पुख्र्यौली भाषा र धर्म सबैलाई उत्तिकै प्राथमिकता दिएर बहस गरौं न कि हाल धर्ममा मात्र भइरहेको अवस्था हटोस् भन्नुभयो । विद्यार्थी मञ्चको उक्त परामर्श बैठकमा चुम्लुङ अध्यक्षले ‘तथ्याङ्कको महत्व, प्रयोग र अभ्यासको सन्दर्भमा बुझनैपर्ने कुरा के हो भने राज्यले, आयोगले, योजनाकारले, अध्ययन कार्यदल लगायतले तथ्यहरुको आधारमा काम गर्ने हुन । जातिको सम्बन्धमा समानुपातिक समावेशिता, आरक्षण, राज्यको पुनःसंरचनाको तर्क र आधारहरुमा तथ्याङ्क नै जग हुन्छ । मातृभाषाको सम्बन्धमा सरकारी कामकाजको भाषा बनाउन, धर्मको सम्बन्धमा राज्यलाई धर्म निरपेक्ष बनाउन र कायम गराउन, ठूलो क्लष्टर बनाउन, सबैलाई समेट्ने पक्षहरुलाई आधार बनाउनुपर्दछ । मौलिकताको बहस, अर्को नामको बहस जायज स्वभाविक हो । तर सन्दर्भ, समय र बेला यो नहुन सक्छ । तथ्याङ्कको सन्दर्भ हो । त्यसलाई बलियो बनाउदैन । कमजोर तथ्याँ्कले माथिका हाम्रा दावीहरु पुग्दैनन्, कमजोर हुन्छन्, समाज पछि पर्दछ । फुट र एकताको कोणबाट भन्दा पनि बलियो हुने सोचबाट लागौं । आम निर्णय, सर्वसम्मत निर्णय प्रकृयाबाट गुज्रनुपर्दछ, प्रत्येक विचार । नयाँ विचार, प्रस्ताव, बहस, आम अनुमोदन हुनै बाँकी, समयपरीक्षण हुनै बाँकी छन् । सजिलोको नाममा, विवादमा नआउने नाममा, मध्यमार्गी हुने नाममा गम्भीर क्षणमा जिम्मेवार संस्था तथा नेतृत्व नबोली बस्नु हुदैन । इतिहास र समयले परीक्षण गर्नेछ ।’ भन्नुभयो ।