2021-02-01

कियाचु बहराइन ६औं अधिवेशन सम्पन्न

मिति २०७७ कात्तिक २८ गते तद्अनुरुप सन् २०२० नोभेम्बर १३ तारिखका दिन साँझ ७ बजे जुम भर्चुअल मार्फत कियाचु बहराइनको ६औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट नयाँ कार्य समितिको अध्यक्षमा सोमराज कन्दङ्वा, महासचिवमा पुर्ण कुमार साम्रा लिम्बु, कोषाध्यक्षमा शेर बहादुर लुम्फङ्वा सहित नयाँ कार्य समिति चयन भएको छ । नवनिर्वाचित अध्यक्ष कन्दङ्वाले तालमेलको लागि सबैलाई सहयोगको अपील गराउँदै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वहाँ बहराइन कार्य समितिको सदस्य, सचिव हुदै हाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कियाचु नेपालको केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनको अध्यक्षता तत्कालिन अध्यक्ष विरेन्द्र तुम्बापो, संचालन तथा उद्घोषण तत्कालिन महासचिव सोमराज कन्दङवा, शुभकामना मन्तव्यहरु सल्लाहकार प्रल्हाद लिङदेन, उपाध्यक्ष एवम् नेफिन बहराइनका अध्यक्ष झहरमान थुप्पोको थेबे, बहराइनमा कार्यरत राई, मगर, गुरुङ, तामाङ समाजका अध्यक्ष एवम् प्रतिनिधिहरुबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि वनेमले शुभकामना मन्तव्यमा कियाचु नेपालको लागि केन्द्र आत्मनिर्भर अक्षय कोषमा रु १ (एक) लाख प्रदान गर्नुभएकोमा लुङ्मेन्दीङ धन्यवाद व्यक्त, लिम्बु भाषा ऐच्छिक विषय पढ्नेलाई प्रति विद्यार्थीलाई रु १० (दश) हजार वितरण गरिरहेकोमा प्रशंसा, नेपालका लिम्बु युवा विद्यार्थीहरुलाई प्रोत्साहन, नेपालका दैवीप्रकोपका पीडित तथा दुखविमार लगायत बहराइनमा कार्यरत लिम्बुहरुलाई सरसहयोग, हाल नेफिन बहराइनको नेतृत्व सम्हालेको, एनआरएनमा सकृय सहभागिताको अवस्थाले कियाचु बहराइनको सकृयताको उदाहरणहरु देखाउँदछ भनी प्रशंसा गर्नुभएको थियो ।

सो अधिवेशनमा मन्तव्य राख्दै बहराइनका अध्यक्ष तुम्बापोले आफनो कार्यकालमा बनाएको कार्ययोजना ८० प्रतिशत कामहरु सम्पन्न, विधान र नियम जारी, राजदुतावाससँग सकृय सम्पर्क समन्वय, संस्थाका कागजातहरु अभिलेखन, कियाचु नेपालसँग सम्बन्धन, छात्रवृत्ति वितरणको लागि कोष स्थापना एवम् वितरण कार्यहरु सफलतापुर्वक सम्पन्न गरेको संक्षेपमा प्रगतिहरु जानकारी गराउनुभयो । बहराइनका शुभकामना मन्तव्य राख्ने व्यक्तित्वहरुबाट तुम्बापोको कार्यकाल स्वर्णीम कार्यकाल रहेको उल्लेख समेत गर्नुभयो । कियाचु बहराइनले सन् २०१८ देखि छात्रवृत्ति कोष निर्माण गरी वितरण कार्य शुरुवात गरेको, हाल उक्त कोषको मूलधन बिडी १५१३ (लगभग रु ४ लाख ७० हजार) संकलन भइसकेको जानकारी भयो ।