2021-02-09

राष्ट्रिय जनगणना २०७८को सन्दर्भमा अपील जारी

मिति २०७७।०८।०८ गते किरात याक्थुङ चुम्लुङ नेपालको तर्फबाट राष्ट्रिय जनगणना २०७८को सन्दर्भमा सबै दिदीबहिनी तथा दाजुभाइहरुमा सहभागिताको लागि एक लिखित अपील जारी गरेको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराकासाथ आगामी वि.सं. २०७८ २५ जेठ – ८ असार गते सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा यस संगठनसम्बद्ध सबै संघ÷केन्द्र, प्रदेश, जिल्ला, नगर÷गाउँपालिका स्तरीय समितिहरु, विषयगत संगठन, सम्बन्धन÷सम्बद्ध संगठन, प्रथाजनित÷थरगत संगठन, लिम्बुजन्य सरोकारवाला संस्थाहरु लगायत सम्पूर्णमा सकृय सहभागिताको लागि लुङ्देमन्दीङ अपील गरिएको छ । उक्त लिखित अपीलको साथसाथै २०७७।०८।१२ गते केन्द्रीय अध्यक्षको भिडियो अपील पनि जारी गरेको छ । उक्त अपीलको पूर्ण पाठ यस प्रकार रहेको छ ।

लुङमेन्दीङ ‘अपील’

मजबुत, विश्वसनीय लिम्बु जनसंख्या निर्माणको लागि जनगणनामा सबै सहभागी बनौं !

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, सेवारो ।

विगत ३० वर्षको निरन्तर इमान्दार मेहनत, आम सम्मति, समय सन्दर्भले मागे बमोजिमको दस लिम्बुवान १७ थुमको प्रतिनिधिहरुले सामुहिक निर्णय गरी २०४८, २०५८ र २०६८ सालहरुमा सम्पन्न राष्ट्रिय जनगणनाहरुबाट आदिवासी लिम्बुहरुको जाति, भाषा, धर्म विषयक सामुदायिक परिचयहरुलाई समयबाट परिक्षित, पारङ्गित र स्थापित गर्न सफल भएकाछौं । परिणामतः आदिवासी लिम्बुको यी स्पष्ट पहिचानहरु संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन भइरहेका छन् । हाल, हामी २०७८ सालमा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनाको संघारमा छौं ।

आजको २१ औं शताब्दीमा तथ्याङ्क (डाटा) अति महत्वपूर्ण बनिरहेको छ र यो युगको महंगो वस्तुको रुपमा स्थापित हुदैछ । तथ्याङ्क संकलन र निर्माण गर्नको लागि नेपालमा प्रत्येक दश वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । जनगणना जनसंख्याहरु स्पष्ट, मजबुत र विश्वसनीय बनाउने महत्वपूर्ण अवसर हो । राष्ट्रिय र ब्यापकस्तरमा तथ्याङ्क संकलन हुने अवसर नेपालमा यो बाहेक अन्य छैन । यो अवसरलाई सदुपयोग गरी आगामी जनगणनामा आदिवासी लिम्बुको सन्दर्भमा निम्न विषयहरुमाथि निम्नानुसार लेख्न लेखाउन किरात याक्थुङ चुम्लुङको आधिकारिक धारणा यही अपील मार्फत जारी गर्दछौं ।

राष्ट्रिय जनगणना २०७८ मुख्य प्रश्नावलीको व्यक्तिगत विवरण खण्डमा जात÷जाति के हो ? भन्ने महलमा लिम्बु, पुर्खाको भाषा कुन हो ? भन्ने महलमा लिम्बु, मातृभाषा कुन हो ? भन्ने महलमा लिम्बु, दोश्रो भाषा कुन हो ? भन्ने महलमा नजीकको आदिवासी जनजातिको मातृभाषा, कुन धर्म मान्नु हुन्छ ? भन्ने महलमा किरात धर्म । (तालिकामा प्रस्तुत)

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराकासाथ आगामी वि.सं. २०७८ २५ जेठ – ८ असार गते सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनामा सबै दिदीबहिनी तथा दाजुभाइहरु सहभागी हुन हार्दिक अपील गर्दछौं । त्यसैगरी उक्त जनगणनामा यस संगठनसम्बद्ध सबै संघ÷केन्द्र, प्रदेश, जिल्ला, नगर÷गाउँपालिका स्तरीय समितिहरु, विषयगत संगठन, सम्बन्धन÷सम्बद्ध संगठन, प्रथाजनित÷थरगत संगठन, लिम्बुजन्य सरोकारवाला संस्थाहरु लगायत सम्पूर्णमा सकृय सहभागिताको लागि लुङ्देमन्दीङ अपील गर्दछौं ।

मजबुत, विश्वसनीय, संगठित तथ्याङ्क किन ?

जात÷जाति महलको सन्दर्भमा ः हामी आदिवासी जनजातिको आन्दोलन समेतले स्थापित गरेको समानुपातिक समावेशीताको व्यवस्था बमोजिम राज्यसंयन्त्रहरुबाट योजना, अभ्यास, कार्यान्वयन भइरहेको अवस्था हो । यसका उदाहरणहरु संघीय संसद, प्रदेश संसदमा, निजामती सेवा, सेना, प्रहरी सेवाहरुमा प्रतिनिधित्व, सहभागिता एवम् प्रवेशहरु हुन् । त्यसैगरी प्रान्त÷राज्य प्राप्तिको लागि पनि विभिन्न आयोग, अध्ययन कार्यदल, योजनाविदहरुले जनसंख्यालाई एक प्रमुख आधार बनाएको सर्वविदितै छ र यी आधारहरु अझ रहिरनेछन् । संविधानमा उल्लेखित स्वायत्तता, स्वशासन, विशेष संरक्षित क्षेत्रको व्यवस्थाहरुलाई योजना र अभ्यास गर्नको लागि पनि जातिगत जनसंख्या एक मुख्य आधार हुनेछ । यी व्यवस्थाहरुबाट प्रदत्त अधिकार उपभोग एवम् कार्यान्वयनलाई सुनिश्चित गर्न साथै थप अधिकार प्राप्तिको लडाईको लागि पनि प्रष्ट, मजबुत र विश्वसनीय जनसंख्या जरुरी हुन्छ । तसर्थ हामीले जात÷जातिको महलमा हालसम्म स्थापित, स्पष्ट, संगठित, प्रचलित, परिचित जाति ‘लिम्बु’ लेखौं लेखाऔं । तथ्याङ्क संकलन हुने सन्दर्भमा अन्य कुनै तर्क, बहस, विकल्पहरुमा अलमलमा नपरौं ।

पुर्खाको भाषा, मातृभाषा र दोश्रोभाषा महलको सन्दर्भमा ः हामी आदिवासी जनजातिहरुको एक प्रमुख सरोकार भनेको हाम्रा मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा स्थापित गर्नु हो । नेपालको संविधानको धारा (६) ले नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषाको रुपमा मान्यता दिएको र धारा (७) ले प्रदेशको सरकारी कामकाजको रुपमा निर्धारण गरेको, भाषा आयोगको सिफारिस बमोजिम हुने व्यवस्था गरेको छ । त्यसैगरी कतिपय स्थानीय सरकार साथै अदालतहरुले मातृभाषाको प्रयोग एवम् अभ्यास गर्न थालेका छन् । तसर्थ हाम्रा मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको रुपमा स्थापित एवम् सुनिश्चित गर्नको लागि पुर्खाको भाषा, मातृभाषाको महलमा हालसम्म स्थापित र परिचित ‘लिम्बु’ लेखौं लेखाऔं । त्यसैगरी दोश्रोभाषा महलमा आफना नजीकका आदिवासी जनजातिहरुको मातृभाषालाई लेखौं लेखाऔं ।

धर्मको महलको सन्दर्भमा ः नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधतायुक्त देश हो । नेपाल धर्मनिरपेक्ष राज्य पनि हो । धर्मनिरपेक्षता हामी आदिवासी जनजातिको आन्दोलनको एजेन्डा एवम् उपलब्धी हो । नेपालको धर्मनिरपेक्ष र बहुधार्मिक अवस्थालाई कायम गर्न गराउनको लागि संगठित, प्रतिशतमा देखिने र केही ब्यापक आकारको धर्मको रुपमा विगत २०४८ सालको जनगणनादेखि स्थापित ‘किरात धर्म’को संख्यालाई कायम गराउँदै अझ बृद्धि गर्नु आवश्यक देखिन्छ । यो अभियानमा सहभागी भइरहदाँ आआफना मौलिक एवम् फरक–फरक संस्कार संस्कृतिहरु पनि उत्तिकै महत्वका साथ आआफनो स्वतन्त्र अस्तित्व र अभ्यासमा रहनेछन्, विलय हुनेछैनन् । यी विविध विश्वास, अभ्यास, परम्परा, प्रचलन, रीतिथीति अनुष्ठानहरुको एकताबद्ध धार्मिक पहिचान मात्र किरात धर्म हुनेछ । संसारमा प्रचलित धर्महरुलाई हेर्दा बुझ्दा धर्म केही ब्यापक र ठूलो घेरामा परिचित भएका पाइन्छन् तथापि त्यसभित्र विभिन्न रुपहरु पाइन्छन् । तसर्थ धर्मनिरपेक्ष राज्य, समावेशी, धार्मिक स्वतन्त्रताको हकलाई अर्थपूर्ण र बलियो उपस्थिति सिद्ध गर्नको लागि धर्मको महलमा ‘किरात धर्म’ लेखौं लेखाऔं । संख्या घट्ने घटाउने अन्य कुनै तर्क, बहस, विकल्पहरुले हाम्रा यी अधिकारहरुको अभ्यासलाई अनिश्चित बनाउने भएकाले अलमलमा नपरौं । जानकारी रहोस, हामी बाहेक नेपालका आदिवासी जनजातिहरु राई, याख्खा, सुनुवार, थामी, जिरेल, सुरेल, हायु लगायतले आ–आफुले अभ्यास गरेका अनुष्ठानहरुको मौलिकता एवम् विविधतालाई किरात धर्मको नाममा र सो अन्तर्गत आत्मसात् गरेको पाइन्छन् जसले किरात धर्मको घेरालाई ब्यापक र ठूलो बनाएको पाइन्छ ।

अन्तमा, विद्वानहरु भन्छन, जनगणना राजनीति र विज्ञानको सम्मिश्रण हो । यसले शक्ति र अर्थको सम्बन्ध राख्दछ । जनगणना विकासको आधार हो, पहिचानको आधार हो । जनसंख्या शक्तिको श्रोत हो । राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक अधिकार प्राप्तिको लागि जनसंख्या एक आधारभूत पक्ष हो । अधिकार लडेर लिनलाई जनसंख्या जरुरी छ ।

जनसंख्या संकलनको समय र सन्दर्भमा अन्य विषयलाई प्रमुख मानी तर्क, बहस र विकल्पहरुमा अल्मलियौं भने परिणामतः जनसंख्या कमजोर बन्नेछ । अधिकारको संघर्ष, प्राप्ति र उपयोगलाई ‘डिरेल’ गर्नेछ । आम सम्मति, निरन्तरता, ब्यापक एवम् लामो मेहनतबाट हामीले स्थापित गरेको जाति, भाषा, धर्मको परिचय एवम् जनसंख्यालाई कम गराउन भइरहेका विभिन्न कुटील षडयन्त्रहरुप्रति गम्भीर भई परास्त गरौं । एकल जातिवादी नश्लवादी बर्चश्ववादी, उपनिवेशी साम्राज्यवादी शक्तिहरुबाट चाल भइरहेको फुटाउ र शासन गर भन्ने रणनीतिप्रति सचेत भई असफल बनाऔं । तसर्थ हामीलाई कमजोर बनाउने बहसहरुबाट सचेत भई प्रष्ट, मजबुत, ब्यापक र विश्वसनीय जनसंख्या निर्माणमा लागौं । हाम्रो संगठित, सकृय, सचेत सहभागिताले मात्र आदिवासी लिम्बु समुदाय सम्बद्ध तथ्याङकहरु अझ प्रष्ट, मजबुत र विश्वसनीय ढंगले निर्माण हुनेछ जसले समुदाय, समाज र देशको लागि महत्वपूर्ण फाइदा पुग्नेछ ।