2021-02-28

कक्षा ११ र १२मा लिम्बु शिक्षा सम्बन्धी संयुक्त कार्य गरौं ।

मिति २०७७ मंसिर २८ गते । कक्षा ११ र १२ मा लिम्बू भाषाको शिक्षा संयुक्त कार्य अगाडि बढाउने निचोड निकालिएको छ । पान्थर, इलाम, ताप्लेजुङ, सुनसरी जिल्लाका विद्यालय तथा स्थानीय तहहरुमा लिम्बु भाषामा पठनपाठन भइरहेको अवस्थामा कक्षा ११ र १२मा मात्र नभई कक्षा ६ देखि १२ सम्मको भाषा शिक्षा पठनपाठनमा औपचारिक तथा अनौपचारिक रुपमा सकृय सबै पक्षहरु मिली संयुक्त कार्य गर्नुपर्ने आवश्यकता बोध भएको छ । उक्त निचोड उक्त मितिमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयको आयोजनामा सम्पन्न कक्षा ११ र १२मा लिम्बु शिक्षा सम्बन्धी जुम भर्चुअल अन्तरक्रियाबाट निकालिएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा लिम्बु पाठयक्रम पाठयपुस्तक लेखकहरु, भाषिक अभियन्ताहरु, प्राज्ञहरु, विज्ञहरु, शिक्षासेवीहरु, शिक्षकहरुको सकृय सहभागिता रहेको थियो । सहभागीहरुमा मलिसा याक्थुम्बा, अमर तुम्याङ, हरिशचन्द्र लावती, मधु केरुङ, शेर बहादुर लिम्बु, येहाङ लावती, सेसेहाङ फियाक, डिबी आङबुङ, हितराम तिलिङ, सन्तोष कुरुम्बाङ, डिल्ली लिङदम, राज माङलाक, दिलेन्द्र कुरुम्बाङ, सागर केरुङ, कल्पना लिङदेन, राजेश इवाहाङ, तिलविक्रम चेम्जोङ, दिपा लक्सम, पुर्णा लिम्बु, जय सम्बाहाङफे, तेज पोख्रेल, स्वर्णीमहाङ फोम्बो, डिग लावती, डा. योगेन्द्र पालुङ्वा हुनुहुन्थ्यो ।

शिक्षक तथा अभियन्ता मलिसा याक्थुम्बाले ‘पान्थर सत्हाङमा माविमा २०६६ सालदेखि कक्षा ११ र २०६७ सालदेखि कक्षा १२मा लिम्बु भाषा पढाई शुरुवात भयो । पुष्प सुब्बा थाम्सुहाङको पाठयक्रम र चुम्लुङले २०५९ सालमा त्रिविविमा प्रस्ताव गरेरेको पाठयक्रमलाई आधार बनाएर । उक्त अभियान धरानको पब्लिक हाईस्कुल, यासोक, लारुम्बा, माङलाक, खलङ्गाटार, दुधे मावि, मामाङ्खे लक्ष्मी मावि लगायतमा विस्तार भयो । २०७२ सालमा जारी संविधान पश्चात् झन खुला भयो । माध्यमिक शिक्षा, जो कक्षा १२सम्मको अध्ययनलाई बुझाउँदछ, सोको अधिकार हाल स्थानीय तहमा सुम्पिएको छ । यस अघि यो काम पाठयक्रम विकास केन्द्रले गरिरहेको अवस्था थियो । यी बीचको समन्वय र अवस्था के हुन्छ ? सबै अभियानहरुलाई औपचारिकरुपमा विकसित गर्नको लागि गम्भीर पहल जरुरी छ ।’ भनी विचार राख्नुभयो ।

त्यसैगरी प्राज्ञ तथा पाठयपुस्तक लेखक अमर तुम्याङले ‘२०५४ सालदेखि २०५९ मा कक्ष्ाँ ५सम्म पुग्यो । २०५९ सालमा आइए, त्यसपछि प्लस टु, हुँदै संस्कृत विश्वविद्यालयबाट पारित तर फेजआउटको कारण निस्कृय भयो । २०७२ देखि पाविकेले कक्षा ६–८सम्म पाठयक्रम बनाएको छ । पान्थर जिशिकाले साथै स्थानीय तहमा पनि लिम्बु भाषा पाठयपुस्तक बनेको अवस्था छ । परम्परागत शिक्षा अन्तर्गत लारुम्बामा कक्षा १–४ पाठयपुस्तकसहित पठनपाठन भइरहेको छ । स्थानीय तहमा भइरहेको र केन्द्रबाट तयार पुस्तक मार्फत भइरहेको पठनपाठनमा चुनौती भाषा स्तरिकरण तथा समग्ररुपमा समन्वय र संयोजनको देखिएको छ । मार्कसिट, वैधानिक योग्यता, सरकारको संस्थागत आधिकारिकता, शिक्षा नीतिमा व्यवस्था मिलाउनुपर्ने देखिन्छ । विद्यमान पाठयक्रमले मातृभाषा वा स्थानीय भाषामा जोड दिने उल्लेख भएता पनि स्थानीय तहहरुमा अंग्रेजी, कम्प्युटर पढाइरहेको अवस्था छ । डेलिगेसन जाने, सरोकार राख्ने प्रयासहरु जारी छन् ।’ भन्नुभयो ।

प्राज्ञ, शिक्षक एवम् पाठयपुस्तक लेखक हरिशचन्द्र लावतीले ‘संविधानको व्यवस्था बमोजिम स्थानीय तहलाई शिक्षाको अधिकार आएको छ । सोही अधिकार अनुसार वैधानिकरुपमा स्थानीय तहहरुले मातृभाषामा पठनपाठनको अभ्यास शुरुवात गरेको र गर्नसक्छन् । माथिबाट तल होइन कि तलबाट काम गर्ने हो । काम गरौं, अलमलमा नपरौं । उदाहरणको रुपमा फाल्गुनन्द गाउँपालिकाको प्रयास पान्थरमा जारी छ, त्यहाँ हामीले कक्षा ६–८, ९–१२ पाठयक्रम बनाइसक्यौं । फाल्गुनन्द गापाले कक्षा ९सम्म सम्झौता भइसक्यो । विभिन्न कार्यशालाहरुमा इलाम, ताप्लेजुङ, तेह्रथुम, झापा सहभागी भएका देखिन्छन् । कक्षा ६–८ सम्मको हाम्रो पाठयक्रम क्रान्तिकारी छ जहाँ संस्कृति, मुन्धुम, लिम्बु खानाहरु लगायतका विषयहरु समेटिएका छन् ।’ भन्नुभयो ।

अभियन्ताहरु मुक्साम लावती, स्वर्णीम फोम्बो, सेसेहाङ फियाक, क्षितिज सावाँ, प्रदीप योङहाङ (लिविम उपमहासचिव), नयन इम्सङ, तिलविक्रम चेम्जोङ, सागर केरुङ, अमित याक्थुम्बा, दिलेन्द्र कुरुम्बाङ, येहाङ लावती, याम पयाङ्गुले विचार राख्नुभयो । वहाँहरुबाट चुम्लुङ अन्तर्गत यो शिक्षा हेर्ने विषयगत अंग, शिक्षकको व्यवस्था र भविष्य, बोर्डिङमा समेत भाषा पठन, सबै क्षेत्रको स्तर र मापदण्ड कायम गर्नुपर्ने, उत्पादित मानव संसाधनहरुको व्यवस्थापन योजना, पिण्डेश्वर संस्कृत विश्वविद्यालयमा लिम्बु भाषा स्ट्रीममा अध्ययन गर्ने विद्यार्थी नपाएर हैरान, पुस्तकको उचित छपाई, पान्थरमा भएको प्रयासलाई माथिल्लो तहमा स्थापित गराउने प्रयास, एकअर्कामा भाषा भाषिकामा विभेद नगरौं, स्कुल व्यवस्थापन समितिको भूमिका, भावनात्मक नभई व्यवहारिक बनाउनुपर्ने, मुख्य अगुवाहरु बीच छलफल र समन्वय गरी समग्रमा दिशानिर्देश गर्नुपर्ने, खुल्ला विश्वविद्यालयमा प्रयास, स्पेलिङ तथा स्तरीकरणको चिन्ता, स्थानीय तह पिच्छे पाठयपुस्तक बनाएमा कसरी लाने ? त्यसैले पाविकेबाट बन्ने, प्रदेशमा पठाउने, गापा नपालाई छपाउन एवम् पढाउन दिने, प्रदेशको भाषामा प्रवेश गराउन सकेपछि थप अवसरहरु खुल्नेछन् भन्ने विचार रायहरु आएका थिए ।

त्यसैगरी शिक्षकहरु कल्पना लिङदेन इलाम, शेरबहादुर लिम्बु पान्थर, सुगम थाम्सुहाङ पान्थर, होम लिङदेन इलाम, डिग लावती यासोकले अनुभवहरु सुनाउनुभएको थियो । शिक्षकहरुले कक्षाहरु संचालन हुनु, शिक्षकहरु नियुक्त हुनु सफलता हो, पाविके र स्थानीय बीचको फरकलाई विस्तारै प्रष्ट पारौं, पुस्तक प्राप्तिमा अझै थुप्रै दुखहरु छन्, छपाई र वितरण प्रणाली निश्चित भइरहेको देखिन्दैन, कक्षा ९–१२ पाठयक्रम पाठयपुस्तक निर्माण विषयमा ध्यान तथा पहल, अन्य जिल्लाहरुमा कसरी लाने, भाषिकाहरुको पाठहरु राखौं, शिक्षक विद्यार्थी व्यवस्थापन बीच समन्वय, मार्कसिट आधिकारिकता, राष्ट्रिय पाठयक्रम प्रारुप २०७६ ले दिएको अधिकार, लिम्बु भाषाको लागि आंशिक शिक्षकहरु, सामुहिक प्रयास, पाविकेको कामको तालमेल मिलाउनुपर्ने विचारहरु राख्नुभयो ।

चुम्लुङ महासचिव निरन्ती तुम्बापोबाट संचालित र अध्यक्ष योगराज लिम्बु वनेमबाट अध्यक्षता भएको सो अन्तक्रिया कार्यक्रमलाई समापन गर्दै अध्यक्ष वनेमबाट यस विषयमा कार्ययोजना बनाउन अझ साँघुरो घेरामा छलफल गरी कार्ययोजना, शिक्षा सम्बन्धी कार्यगर्ने केन्द्रीय कार्यदल वा अंग बनाउने निश्कर्ष सुनाएर कार्यक्रम समापन भयो ।