2021-03-01

चासोक चाड २०७७ लुङमेन्दीङ शुभकामना

च.नं. ५९ । प.सं. ०७७।०७८

मिति २०७७।०९।१३ गते

लुङमेन्दीङ शुभकामना

प्रत्येक वर्ष तिथिमिति अनुसार मंशिरे पुर्णिमाको दिनमा आदिवासी लिम्बुहरुले संस्थागतरुपमा मनाईरहेको चासोक चाड यस वर्ष २०७७ पुस १५ का दिन पर्न गएको छ । नेपालका आदिवासी राई समुदायले साकेला उधौली, याक्खाले चासुवा, सुनुवारले फोलष्यादर, थामीले भुमे पुजा भनी मनाउने गर्दछन् जसलाई समग्रमा किरात चाड समेत भन्दछौं । विश्वव्यापी महामारी रोग कोभिड–१९बाट भरखरै तङ्रिन लागेको समाज र अर्थतन्त्रको अवस्थामा आदिवासी लिम्बुहरुको महान राष्ट्रिय चाड “चासोक तङनाम २०७७” हाम्रो सामु आइपुगेको छ । हालै कोभिड महामारी रोगविरुद्ध खोपको विकास भई कार्यान्वयनको प्रारम्भिक चरणमा छ, यसले विश्व मानव समाजमा खुशी र आत्मविश्वास प्रदान गरेको छ । यस सुखद क्षणसहित प्रकट भएको हाम्रो राष्ट्रिय चाडको शुभउपलक्ष्यमा देशविदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा लुङमेन्दीङ शुभकामना व्यक्त गर्दछौं ।

अहिले नेपालमा स्वेच्छाचारी सर्वसत्तावादी शासकको कारण देश अनिश्चितता र राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ । यो असंवैधानिक, अलोकतान्त्रिक हर्कतले हाम्रो सङ्घर्षका उपलब्धीहरु विशेषत सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, बहुलता लगायतका आधारहरु कमजोर बनिरहेका छन् । राज्यबाट भएका विशेषतः निजामति सेवामा षडयन्त्रमुलकढंगले आरक्षण प्रतिशत कटौती, आदिवासी जनजातिहरुको मुख्य चाडपर्वहरुको राष्ट्रिय सरकारी बिदा कटौती, भाषिक÷साँस्कृतिक अतिक्रमण लगायतका मुद्धाहरु हामीलाई बिझिरहेकाछन् । यो र यस्ता राजनीतिक घटनाक्रमहरु, जसले हामीलाई प्रत्यक्षतः नकारात्मक असर गर्दछ ती माथि गम्भीर सरोकार राखी हामीमा विकसित साँस्कृतिक चेतलाई राजनीतिक चेतमा परिणत गरी हाम्रो हस्तक्षेपकारी भूमिकाको समयले माग गरेको छ । विश्वमहामारीबाट सचेत र सुरक्षित रहौं ।

सफलता, सुख र समृद्धिको आशिर्बाद बोकेर आएका यी चाडहरुले हामी सबैलाई उच्च मनोबल, हौसला र प्ररेणा प्रदान गरुन् । हामी सबैमा एकता र सदभाव छाई रुहुन् भन्दै पुनः सम्पूर्णमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गर्दछौं ।

योगराज लिम्बू वनेम

अध्यक्ष, केन्द्रीय कार्य समिति