2021-03-01

सिरिजंगा ३१६ जयन्ती तथा पुरस्कार घोषणा सम्पन्न

मिति २०७७ पुष १५ गते किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयको जुम भर्चुअल मार्फत त्येअसी सिरीजंगाको ३१६ औं जन्मजयन्ती तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि भाषा आयोगको अध्यक्ष माननीय डा. लभदेव अवस्थीमा सम्पन्न उक्त समारोहलाई दुई चरणमा विभक्त गरी पहिलो चरणमा तेअङ्असी सिरिजंगा सिंथेबेको जीवनी चर्चा केन्द्रीय उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनले प्रस्तुत गर्नुभएको थियो । त्यसपछिको दोश्रो चरणमा पुरस्कार वितरण घोषणा कार्यक्रम रहेको थियो । उक्त दोश्रो चरणमा पुरस्कार संस्थापकहरुलाई सम्बोधन गरी यस वर्ष २०७७ सालको लागि कियाचु किरात सिरिजंगा पुरस्कारको लागि लेखक साहित्यकार थाकुहाङ मेरिङ सम्वाहाङफे र कियाचु उदयकला पुरस्कारको लागि फिल्म निर्देशक रणवीर शेर्मा (रवि) लाई घोषणा गरियो । उक्त समारोहमा पुरस्कार निर्णायक समितिका क्रमशः संयोजकहरु पान्थरबाट राजेन्द्र जबेगु र काठमाडौंबाट याम पयाङ्गुले पुरस्कृत व्यक्तित्वको चर्चा गर्दै आआफनो मन्तव्य राख्नुभयो । त्यसैगरी पुरस्कृत व्यक्तित्वहरुले धन्यवादसहितको मन्तव्य राख्नुभयो । प्रमुख अतिथि डा. अवस्थीले नेपालमा समग्र भाषाहरुको संरक्षण सम्बद्र्धन गर्दै अघि बढनुपर्ने र यस सन्दर्भमा लिम्बु भाषा साहित्यकारहरुको महत्वपूर्ण योगदान बारे चर्चा गर्नुभयो ।

विश्व महामारी कोभिड १९को कारण उक्त दिनको साँझ ६ बजेदेखि जुम भर्चुअल मार्फत सम्पन्न यस कार्यक्रममा किरात शिरिजंगा पुरस्कारको प्रमाण पत्र सहित नगद रु २५ हजार र कियाचु उदयकला पुरस्कारको प्रमाण पत्र सहित नगद रु १० हजार रहेको जानकारी गराउँदै अनुकूल समयमा कियाचु केन्द्रीय कार्यालयमा पुरस्कृत व्यक्तित्वहरुलाई उपस्थित गराई वितरण गरिने भयो । कार्यक्रमको अध्यक्षता योगराज लिम्बु वनेम, उद्घोषण निरन्ती तुम्बापो महासचिव र याशेली योङहाङ सचिव गर्नुभएको थियो भने प्रमाण पत्र वाचन सचिव यासेली योङहाङबाट भएको थियो । उक्त जुम भर्चुअल कार्यक्रम अघि दिनमा ललितपुर चुम्लुङ हिम स्थित सिरिजंगा, फाल्गुनन्द र इमानसिंहको त्रिमुर्तिमा केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेम, ललितपुर जिल्ला पदाधिकारी तथा सदस्यहरुबाट सामुहिक माल्यार्पण गरिएको थियो । उक्त क्षणमा महासचिव निरन्ती तुम्बापोले कार्यक्रमको बारे र जयन्ती बारे प्रकाश पार्नुभएको थियो ।