2021-03-01

चेम्जोङ ११८औं जयन्ती तथा पुरस्कार घोषणा सम्पन्न

मिति २०७७ पुष १७ गते । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयले जुम भर्चुअल मार्फत इतिहासकार इमान सिंह चेम्जोङ ११८ औं जन्मजयन्ती तथा पुरस्कार घोषणा समारोह सम्पन्न भएको छ । पहिलो र दोश्रो चरणमा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर १ निर्वतमान प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता योगराज लिम्बु वनेम र उद्घोषण निरन्ती तुम्बापो महासचिव तथा याशेली योङहाङ सचिवले गर्नुभएको थियो । पहिलो चरणमा स्वागत मन्तव्यसहित इमानसिंह चेम्जोङको जीवनी चर्चा उपाध्यक्ष डा.कमल तिगेलाले गर्नुभयो । चेम्जोङ परिवार जेठी बुहारी शशि चेम्जोङ, कान्छी बुहारी इन्दु चेम्जोङ, नातिनातिनाहरु जोडिनुभएको थियो । परिवारको तर्फबाट नाति मेघबर चेम्जोङले संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

दोश्रो चरणमा पुरस्कार घोषणा कार्यक्रम रहयो । यस वर्ष २०७७ सालको कियाचु इमानसिङ चेम्जोङ पुरस्कारबाट ‘येवोकरक’ लेखक पान्थर जिल्लाका लछामी शेर्मा पापोलाई प्रदान गर्ने घोषणा भयो । पुरस्कृत व्यक्तित्व शेर्माको व्यक्तित्व एवम् कृतित्वको बारेमा पुरस्कार निर्णायक समिति संयोजक राजेन्द्र कुमार जवेगु (याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल कुलपति) ले चर्चा गर्नुभयो । पुरस्कारको प्रमाण पत्र, राशीको रुपमा रु २५ हजार रहेको छ । पुरस्कृत व्यक्तित्वको प्रमाण पत्र उपाध्यक्ष येक्तेनले गर्नुभयो । प्रमुख अतिथि प्राडा तुम्बाहाङले आफनै लिम्बु मातृभाषामा मन्तव्य राख्नुहुँदै गुरु चेम्जोङले गहन अध्ययन गरी लिम्बु लगायत नेपाली इतिहासमा महत्वपूर्ण योगदान गर्नुभएको र वहाँको योगदानलाई कदर लिम्बु समाज एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्षता गर्नुभएको अध्यक्ष वनेमले आज लिम्बु भाषा साहित्यको ‘धर्ती थाम्ने’ व्यक्तित्वहरुलाई पुरस्कृत गर्न पाउँदा गौरव अनुभूति भएको र समाजले स्रष्टाहरुलाई सदा प्रोत्साहित गर्नुपर्ने मन्तव्य सहित कार्यक्रम समापन गर्नुभयो । घोषित पुरस्कार अनुकुल समयमा हस्तान्तरण गरिने जानकारी दिइयो ।