2021-03-02

फाल्गुनन्द लिङदेन समाज सुधार पुरस्कार हस्तान्तरण

मिति २०७७ पुस २४ गते किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयमा कियाचु फाल्गुनन्द लिङदेन समाज सुधार पुरस्कार अभियन्ता नन्द कन्दङवालाई पुरस्कार राशी रु १० हजार, प्रमाण पत्र, शीरमा पागा, मालाअर्पणसहित हस्तान्तरण भयो । पुरस्कार हस्तान्तरणको क्रममा ललितपुरका अध्यक्ष तुम्याङ रामबहादुर बखिमबाट शीरमा पागा पहिराइएको र नगद तथा प्रमाणपत्र केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेमले हस्तान्तरण गर्नुभएको थियो । पुरस्कार प्रमाण पत्र यसप्रकार उल्लेख छ ।

कियाचु फाल्गुनन्द लिङदेन समाज सुधार पुरस्कार प्रमाण पत्र

तपाई श्री नन्द कन्दङवाज्युले नेपालका आदिवासी लिम्बुहरुको हक अधिकार सुनिश्चितता, विकास र लिम्बुवान सभ्यता विकासको लागि निर्दलीय र निरंकुश पंचायती शासन व्यवस्थाकै बेला विस २०४६ सालमा स्थापित किरात याक्थुङ चुम्लुङको संस्थापक अध्यक्ष साथै पदाधिकारी पदमा रही अतुलनीय योगदान गर्नुहुदै आदिवासी जनजाति, कमैया मुक्ति र पुनःस्थापना, बहिष्कृत÷सिमान्तकृत समुदाय तथा भूगोलको हक अधिकार स्थापना र विकासको अभियान तथा आन्दोलनहरुको नेतृत्वदायी, समन्वयात्मक, बौद्धिक, नैतिक र लेखनमा महत्वपूर्ण योगदान गर्नुभई समाज सुधार तथा सेवामा उल्लेखनीय योगदान पुरयाउन सफल हुनुभएकोले उक्त समाज सेवाको योगदानको उच्च मूल्याङ्कन गर्दै यहाँलाई यस वर्ष विस २०७७को कियाचु फाल्गुनन्द लिङदेन समाज सुधार पुरस्कार ससम्मान प्रदान गरिएको छ ।

... हस्ताक्षर ... यम पयाङगु, संयोजक, पुरस्कार छनौट निर्णायक समिति

... हस्ताक्षर ... सत्मोहन जोशी, संस्कृतिविद् एवम् वाङ्मय शताब्दी पुरुष, प्रमुख अतिथि

... हस्ताक्षर ... योगराज वनेम लिम्बू, अध्यक्ष, केन्द्रीय कार्यसमिति

येले तङबे ५०८० तदनुसार वि.सं. २०७७ कात्तिक २५ गते, समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन १३६औं जन्मजयन्ती तथा पुरस्कार वितरण समारोह, चुम्लुङहिम् ललितपुर, नेपाल ।