2021-03-03

चुम्लुङ एघारौं राष्ट्रिय महाधिवेशन सारियो ।

मिति २०७७ माघ ९ गते । किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्य समितिको छैटौं बैठकले संस्थाको एघारौं राष्ट्रिय महाधिवेशन १(एक) वर्ष भित्र गर्ने गरी सार्ने निर्णय गरेको छ । किरात याक्थुङ चुम्लुङको एघारौं राष्ट्रिय महाधिवेशन आयोजना सम्बन्धमा उक्त महाधिवेशन आयोजना गर्नुपर्ने समय मिति २०७७ फागुन अन्तिम हप्तामा पुग्दैछ । तर मिति २०७६ चैतदेखि २०७७ पुससम्मको लगभग १० महिना नेपालमा समेत विश्व महामारी कोभिड १९को कारणले प्रतिकुल परिस्थिति उत्पन्न भई नियमित तथा योजनाबद्ध कार्यक्रमहरु हुन नसकेको हुनाले सो महाधिवेशन हुन नसक्ने अवस्था सृजना भएको बैठकले निष्कर्श निकालेको छ । तसर्थ मिति २०७७ माघ ९ गते किरात याक्थुङ चुम्लुङको ६ (छैटौं) केन्द्रीय कार्य समितिको बैठक बसी संस्थाको विधान २०४६ (नवौं संसोधन सहित मिलाइएको)को दफा २१ (ग) अनुसार वर्तमान केन्द्रीय कार्य समितिको पदावधि १ (एक) वर्षसम्म अर्थात् २०७८ फागुनसम्म थप गरी सोही अवधिभित्रको उपयुक्त समयमा सो महाधिवेशन आयोजना गर्ने निर्णय भएको छ ।

जुम भर्चुअल मार्फत बसेको उक्त केन्द्रीय कार्य समितिको बैठकले माथि उल्लेखित महाधिवेशनको एजेण्डा बाहेक हालसम्मका जिल्ला तथा प्रदेश गतिविधिहरुको जानकारी, राष्ट्रिय जनगणना कार्ययोजना कार्यान्वयन समीक्षा लगायतका एजेण्डाहरु छलफल गरी निष्कर्शमा पुगेको थियो । जिल्ला कार्य समितिहरुको अवधि पुगेकाहरु झापा, पान्थर, सुनसरी, मोरङ, चितवन, काठमाडौं, धनकुटा, इलाम, तेह्रथुमको जिल्ला अधिवेशनहरु गराउनुपर्ने राय सल्लाहसमेत भयो । यस वर्षको २४औं राष्ट्रिय चुम्लुङ आयोजना सम्बन्धमा जिल्लाहरुसँग रायसल्लाह एवम् सम्भावना हेरी निर्णय गर्ने निर्णय भयो ।

केन्द्रीय समितिका अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा, संचालन महासचिव निरन्ती तुम्बापोबाट भएको उक्त जुम भर्चुअल बैठकमा झापा, काठमाडौं, सुनसरी, चितवन, संखुवासभा, पान्थर, मोरङ, तेह्रथुम, भक्तपुर जिल्लाबाट केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकको समापन मन्तव्यमा केन्द्रीय अध्यक्ष वनेमले जनगणना, लोकसेवा परीक्षा तयारीमा सहजिकरण, मातृभाषामा पठनपाठन, माघ फागुमा गाउँ केन्द्रीत प्रशिक्षणको तयारी, स्थानीय सरकारहरुसँग सहकार्यको लागि प्रस्ताव बजेट हाल्नुपर्ने, मौलिकता, पहिचानको नाममा किरात माथिको हमला र संस्थामाथिको हमला प्रति सचेत एवम् हस्तक्षेप गर्नुपर्ने, वर्तमान राजनीतिक घटनाक्रम प्रति सचेत एवम् विरोध, बृहत नागरिक आन्दोलनको बारेमा स्पष्ट पार्नुभयो ।