2021-03-03

मिति २०७७।१०।२५ गते प्रेस विज्ञप्ति : मुक्कुमलुङमाथि सरकारीे अतिक्रमण तुरुन्त बन्द गर

मिति २०७७।१०।२५ गते

प्रेस विज्ञप्ति : मुक्कुमलुङमाथि सरकारीे अतिक्रमण तुरुन्त बन्द गर

लिम्बुवान, ताप्लेजुङ जिल्लामा अवस्थित ‘मुक्कुमलुङ’ लिम्बु आदिवासीको परम्परागत भूमी भित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल हो । यस स्थलमा विकासको नाममा विभिन्न संरचना बनाउन सरकारी तथा गैरसरकारी तहबाट अतिक्रमण भई लिम्बु समुदाय र सम्बन्धित अतिक्रमण गर्ने पक्षवीच विवाद भएको सर्व विदितै छ । दुई पक्ष बीचको विवादलाई रोक्न ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको पहलमा मिति २०७७ साउन ४ गते सम्बन्धित ‘मुक्कुमलुङ संयुक्त संघर्ष समिति’ लगायत सरोकारवालाहरूसंगको बैठकले संरचना निर्माण गर्नको लागि गरिने सर्भे लगायतका कार्यहरू रोक्ने र अर्को सहमति नभएसम्म सबै कामहरू बन्द गर्ने सहमति भएको थियो । उक्त सहमतिको उल्लङ्घन गर्दै संरचना निर्माणार्थ फेरी केही गतिविधीहरू हुन थालेको प्रति किरात याक्थुङ चुम्लुङको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा ताप्लेजुङ जिल्लामा मुक्कुमलुङ संयुक्त संघर्ष समिति सकृय रहेको छ । लिम्बु आदिवासी समुदायको मानव अधिकार हनन् भईरहेको कुरालाई ‘याक्थुङ सयङ सहजीकरण समूह’को तर्फबाट राष्ट्रिय मानव अधिकार आयोग समक्ष पनि उजुरी गरिएको छ भने नेपाल सरकारलाई पनि अन्तर्राष्ट्रिय कानूनद्वारा सुनिश्चित भएको लिम्बुहरूको प्रथाजनित भूमीमाथि अतिक्रमण नगर्न अनुरोध तथा जानकारी पत्र दिइएको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, याक्थुङ सयङ सहजीकरण समूहका यी गतिविधिहरुमा किरात याक्थुङ चुम्लुङको साथ र समर्थन रहेको सबैमा जानकारी गराउँदछौं ।

सहमति विपरित मुक्कुमलुङ क्षेत्रमा फेरी गतिविधिहरु गरेर सरकारले लिम्बु समुदायसँग द्वन्द्व बढाइरहेको र त्यसमा बलजफ्ती भए लिम्बु समुदाय प्रतिरोध नगरी रहन सक्दैन भनी समयमा नै सचेत गराउँदै शान्तिपूर्ण निकासको लागि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सबै पक्षहरूलाई उक्त सहमति अनुसार काम गर्न गराउन हार्दिक अनुरोध गर्दछौं ।

योगराज लिम्बू वनेम अध्यक्ष, केन्द्रीय कार्य समिति