2021-05-20

सुनसरीमा नयाँ कार्यसमिती चयन

मिति २०७७ चैत्र ७ गते I किरात याक्थुङ चुम्लुङ सुनसरीको नवौँ जिल्ला अधिवेशनले मोहन हुक्पा चोङबाङको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको छ । मोहन चोङबाङको अध्यक्षता, उदघोषण सचिव ताजुप लिम्बुले गर्नुभएको उक्त जिल्ला अधिवेशनमा अग्रज दिवगंत प्रति मौनधारण गर्दै दियो बाली च्याब्रुङ बजाएर प्रमुख अतिथि केन्द्रीय अध्यक्ष वनेमले उद्घाटन गर्नुभएको थियो ।

उक्त अधिवेशनमा जिल्ला उपाध्यक्ष स्वर्णीमहाङ फोम्बोले विभिन्न समस्याहरुले गर्दा पाँच वर्षपछि मात्र अधिवेशन आयोजना गरिएको जानकारी दिदैं अधिवेशनका अतिथि, सहभागी प्रतिनिधिहरुलाई स्वागत मन्तव्य राख्नुभएको थियो । अधिवेशनको उद्घाटन समारोहमा सुनुवार सेवा समाजका जिल्ला अध्यक्ष हेमन्त सुनुवार, सुनसरी जनजाति महासंघका अध्यक्ष रामकुमार राई, केन्द्रीय सल्लाहकार एवम् वरिष्ठ पत्रकार हर्ष सुब्बाले शुभकामना मन्तव्य राख्नुभयो । त्यसैगरी केन्द्रीय उपाध्यक्ष डा कमल तिगेला, सचिवालय सदस्य एवम् भूपू महासचिव गोविन्द आङबुङ, केन्द्रीय सचिव डा योगेन्द्र पालुङवाले समेत शुभकामना मन्तव्य राख्नुभयो । शुभकामना मन्तव्यमा अतिथिहरुले पहिचान र अधिकारकाृ लागि संघर्ष, आगामी राष्ट्रिय जनगणना, समाधिस्थलको संरक्षण, कोरना महामारीले जीवनशैलीहरु प्रभावित, लिम्बुवान आन्दोलनको शिथिलता, लिम्बु समाजमा देखापरेको याक्थुङ, किरात, लिम्बु भनी सृजना भएको वादविवाद, लिम्बु समाजलाई फुट्न होइन जुट्नको लागि सदा क्रियाशील रहनुपर्ने, राजनीतिक समावेशिताको बारेमा बोल्नुभएको थियो ।

त्यसैगरी प्रमुख अतिथि वनेमले अधिवेशनलाई सम्बोधन गर्ने क्रममा वर्तमानमा चुम्लुङले पहिचान, अधिकार, राज्यमा आदिवासी जनजातिको पक्षमा वैचारिक एवम् कार्यक्रमुलक गतिविधिहरुमा क्रियाशील रहेको बताउनुभयो । चुम्लुङको स्थापनाकालको परिदृष्य चर्चा गर्दै पछिल्लो समयमा चुम्लुङ पंक्ति सांस्कृतिक बढी वैचारिक कमजोर हुँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै राज्यमा उपस्थिति बृद्धिको लागि राज्यसंरचनामा र राजनीतिक सत्तामा उपस्थिति बढाउनको लागि क्रमशः युवा विद्यार्थी पंक्तिलाई प्रशासनयन्त्रमा प्रवेशको लागि लोक सेवा तयारी कक्षाहरु र आदिवासी जनजातिमा देखापरेको साँस्कृतिक चेतलाई राजनीतिक चेतमा परिणत गर्न गराउन सकृय रहनुपर्ने बताउनुभयो । नेपालको वर्तमान राजनीतिक परिस्थितिमा जननिर्वाचित नेताको स्वेच्छाचारिताबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितामा देखापरेको प्रतिगमन एवम् संकटप्रति सचेत भई बृहत नागरिक आन्दोलनसँगै चुम्लुङ पंक्ति संघर्षरत रहनुपर्ने बताउनुभयो । राष्ट्रिय जनगणनाको सन्दर्भमा हाल समाजमा भएको विविध विवादहरुको सन्दर्भमा चुम्लुङले जिम्मेवार र आम दृष्टिकोण दिएर गइरहेको अवस्था छ, समय र परिणामले सबैलाई परिक्षण गर्ने बताउनुभयो । लिम्बु समाजमा योगदान गर्ने हिसाबले संघसंस्थाहरु खोलिनु स्वभाविक भएता पनि किरात याक्थुङ चुम्लुङ विरुद्ध लाग्नुले समग्र समाज विकासमा योगदान गरिरहेको छैन भनी सबैलाई सचेत गराउनुभयो । आदिवासीहरुको भूमि अधिकार विशेषत आफनो धार्मिक सांस्कृतिक थातथलोहरुको संरक्षण, सामुदायिक एवम् सामुहिक भूमिहरुको संरक्षण तत् कार्यको लागि याक्थुङ सयङ(थरगत)हरुको सहजीकरण एवम् संगठीत कार्यमा चुम्लुङ पछिल्लो समयमा क्रियाशील रहेको बताउनुभयो ।

धरान चुम्लुङ भवनमा शनिबार सम्पन्न अधिवेशनले दोस्रो कार्यकालको लागि सर्वसम्मत रुपमा मोहन हुक्पा चोङबाङलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा उदय कुरुम्बाङ लिम्बु, सचिव ताजुव लिम्बु, सहसचिव मनि इस्पो लिम्बु र कोषाध्यक्षमा नारायण पंधाक लिम्बु चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा हर्कजंग वनेम लिम्बु, पुर्णिमा तिगेला लिम्बु, कल्पना थलङ लिम्बु, बिष्णु तिगेला लिम्बु, कोपिला तिल्लिङ चोङ्बाङ लिम्बु, ललिता लिम्बु, किशोर सम्बाहाङ्फे लिम्बु, सिंह बहादुर लिम्बु, बिनोद केदेम लिम्बु, पुर्णकला लिम्बु, कबिता लिम्बु, मनमाया लिम्बु, रुपा लिम्बु र राज कुमार लिम्बु चयन भएका छन् । राष्ट्रिय चुम्लुङ सदस्यमा नरेश इङवारम लिम्बु, कर्ण बिक्रम तुम्बाहाङ्फे लिम्बु र शुकदल थेबे लिम्बु चयन भएका छन् । हर्ष सुब्बा संयोजक, चन्द्रमाया लिम्बु र डा योगेन्द्र पालुङवा सदस्य रहनुभएको तीन सदस्यीय निर्वाचन समितिले व्यापक गृहकार्य गरी अन्ततः सर्वसम्मतरुपमा नयाँ कार्य समिति निर्वाचित गरेको थियो ।