2021-05-23

झापा दमकमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत ९ गते । झापा जिल्ला दमकस्थित किरात भवनको सभाहलमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको व्यवस्थापन र झापा जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता सेसेहाङ फियाक, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेम सहित केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घोषण जिल्ला सचिव प्रेमचन्द्र लिम्बु, शुरुवातमा दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङबाट सहभागीहरुलाई स्वागत मन्तव्य, कार्यक्रमको औचित्यबारे मन्तव्य गुमानसिं सम्बाहाम्फे र प्रमुख अतिथिबाट ब्यानर बाचन गरेर उद्घाटन भएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष वनेमले मन्तव्य राख्ने क्रममा चुम्लुङको ३२ वर्षको अवधिमा लिम्बु समाजप्रति क्रियाशील, भौतिक भवनहरु सहित संगठानात्मक रुपले फैलावट रहेको चर्चा गर्दै वर्तमानमा चुम्लुङले पहिचान, अधिकार, राज्यमा आदिवासी जनजातिको पक्षमा वैचारिक एवम् कार्यक्रमुलक गतिविधिहरुमा क्रियाशील रहेको बताउनुभयो । चुम्लुङको स्थापनाकालको परिदृष्य चर्चा गर्दै पछिल्लो समयमा चुम्लुङ पंक्ति सांस्कृतिक बढी वैचारिक कमजोर हुँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै राज्यमा उपस्थिति बृद्धिको लागि राज्यसंरचनामा र राजनीतिक सत्तामा उपस्थिति बढाउनको लागि क्रमशः युवा विद्यार्थी पंक्तिलाई प्रशासनयन्त्रमा प्रवेशको लागि लोक सेवा तयारी कक्षाहरु र आदिवासी जनजातिमा देखापरेको साँस्कृतिक चेतलाई राजनीतिक चेतमा परिणत गर्न गराउन सकृय रहनुपर्ने बताउनुभयो । नेपालको वर्तमान राजनीतिक परिस्थितिमा जननिर्वाचित नेताको स्वेच्छाचारिताबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितामा देखापरेको प्रतिगमन एवम् संकटप्रति सचेत भई बृहत नागरिक आन्दोलनसँगै चुम्लुङ पंक्ति संघर्षरत रहनुपर्ने बताउनुभयो । लिम्बु समाजमा योगदान गर्ने हिसाबले संघसंस्थाहरु खोलिनु स्वभाविक भएता पनि किरात याक्थुङ चुम्लुङ विरुद्ध लाग्नुले समग्र समाज विकासमा योगदान गरिरहेको छैन भनी सबैलाई सचेत गराउनुभयो । आदिवासीहरुको भूमि अधिकार विशेषत आफनो धार्मिक सांस्कृतिक थातथलोहरुको संरक्षण, सामुदायिक एवम् सामुहिक भूमिहरुको संरक्षण तत् कार्यको लागि याक्थुङ सयङ(थरगत)हरुको सहजीकरण एवम् संगठीत कार्यमा चुम्लुङ पछिल्लो समयमा क्रियाशील रहेको बताउनुभयो । नयाँ परिवेशमा संघ, प्रदेश र स्थानीय तहमा देशको राज्य संरचना बनिरहेको र साधनश्रोत वितरण भइरहेको सन्दर्भमा चुम्लुङलाई पनि सोही अनुरुप संगठीत र क्रियाशील गराइरहेको बताउँदै चुम्लुङका नगरपालिका तथा गाउपालिका स्तरीय समितिहरुलाई आआफनो सम्बन्धित पालिकाहरुमा सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक हिसाबले साधनश्रोत, विषयगत कार्यक्रमहरु र हकअधिकार कार्यान्वयन गराउनको लागि सकृय हुन अपील गर्नुभयो ।

प्रमुख अतिथिले क्रमशः राष्ट्रिय जनगणनाको सन्दर्भमा हाल समाजमा भएको विविध विवादहरुको सन्दर्भमा चुम्लुङले जिम्मेवार र आम दृष्टिकोण दिएर गइरहेको अवस्था छ, समय र परिणामले सबैलाई परिक्षण गर्ने बताउनुभयो । कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा जनगणना सम्बन्धीको अपील पर्चाहरु वितरण गर्दै केन्द्रबाट तयार गरिएको रेडियो जिंगल सबै सहभागीहरुलाई सुनाउँदै जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । जनगणनामा अन्य आदिवासीहरु राईले खम्बु, मगरले लाङघाली, गुरुङले तमु, तामाङले मुर्मी लेखौं किन भनेनन्, लिम्बुले चाहि किन याक्थुङ लेख्नुपर्ने तर्कको छरछिमेकीको विवेकसँग तुलना गरी सचेत हुन र समयसान्दर्भिकता बुझन सबैलाई अपील गर्नुभयो । साथै धर्मको सन्दर्भमा नेपालकै परिवेशमा किरात लेखिएको नकि अन्यबाट प्रभावित नभएको साथै अन्य मुलुकको परिवेश फरक होलान् भनी बुझनुपर्ने बताउनुभयो ।

त्यसैगरी अतिथि एवम् प्रशिक्षक केन्द्रीय उपाध्यक्ष डा तिगेलाले थप विस्तृत मन्तव्य राख्दै ‘किरात, याक्थुङ, लिम्बु’ आदि शब्दहरु मुन्धुममा पाइदैन भनी भ्रम छरिएता पनि यी सबै इतिहास, अभिलेख र वर्तमानको ययार्थ हुन, चुम्लुङको विधान तथा आधिकारिक अभिलेखमा उल्लेखित यथार्थ शब्दहरु हुन् । लिम्बु समाजमा एकापसमा भिड्ने होइन कि राज्यसँग भिडनुपर्ने बेला हो भन्दै जनगणनामा स्पष्ट भएर सबै पंक्ति लाग्नुपर्ने बताउनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट सोधुङ वरकलाई रामसार क्षेत्र भनिएको, चासोक तङनाम धान्यपूर्णिमामा किन ? राज्यसयन्त्रमा पहुँच भन्दा पनि लाहुरे जाने प्रवृत्ति, चुम्लुङका मुख्य गतिविधिहरु, भाषिक लडाई, परिवारमा बच्चाहरुसँग भाषा बोल्ने अभियान, जनसंख्या बृद्धिको सन्दर्भमा बच्चा जन्माउने क्षमता राख्ने आउने पुस्तालाई सल्लाह सुझाव दिन सकिने कुरामा ध्यान दिनुपर्ने, युवा विद्यार्थीहरुको सकृय सहभागिता, चुम्लुङ गाउँ तहमा पुग्न नसक्नु, किरात धर्म भन्दा लारुम्बा मात्र नबुझौं, राज्यको षडयन्त्र आदि बारेमा सुझाव तथा जिज्ञासाहरु आएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य अभिषेक येक्तेन, कमल गाउँ अध्यक्ष पुण्य प्रसाद सम्बाहाम्फे, र्पू केन्द्रीय उपाध्यक्ष धिरेन लावती, केन्द्रीय सदस्य पुर्ण कुमार हाङश्रोङ, प्रदेश सदस्य इक्सा सम्बाहाम्फेले मन्तव्य राख्नुभयो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य विष्णुमाया चेम्जोङ, मेहेरमान लिङदेन, राष्ट्रिय चुम्लुङ सदस्य शिव मेन्याङ्बो, हरिदेवी लावती, मोती इङनाम लगायतका अगुवाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा दमक नगर समिति अन्तर्गत बनेका अधिकांश वडाका प्रतिनिधिहरु, शुभेच्छुकहरु राम्रो सहभागिता रहेको देखियो । कियाचु लिम्बुवान प्रदेश समितिको समन्वय रहेको थियो ।

उक्त कार्यक्रमको अन्तमा जिल्ला अध्यक्ष फियाकले मन्तव्य राख्दै झापामा पर्चा छाप्ने, रेडियो जिंगल, स्थानीय पत्रिकाहरुमा व्यापक प्रचारप्रसारमा जाने योजना बताउनुभयो र सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।