सुनसरी धरानमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत ११ गते दोश्रो कार्यक्रम । सुनसरी जिल्ला धरान नगर स्थित धरान चुम्लुङ हिमको सभाहलमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्लाको सहजीकरण र धरान नगर समितिबाट आयोजित कार्यक्रमको अध्यक्षता पद्मा लिम्बु, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति केन्द्रीय अध्यक्ष योगराज लिम्बु वनेम सहित केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला, केन्द्रीय सचिव डा. योगेन्द्र पालुङवाले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमको उद्घोषण नगर सचिव जय सम्बाहाङफे, शुरुवातमा नगर सदस्य खेमकला काम्बाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष वनेमले मन्तव्य राख्ने क्रममा चुम्लुङको ३२ वर्षको अवधिमा लिम्बु समाजप्रति क्रियाशील, भौतिक भवनहरु सहित संगठानात्मक रुपले फैलावट रहेको चर्चा गर्दै वर्तमानमा चुम्लुङले पहिचान, अधिकार, राज्यमा आदिवासी जनजातिको पक्षमा वैचारिक एवम् कार्यक्रमुलक गतिविधिहरुमा क्रियाशील रहेको बताउनुभयो । चुम्लुङको स्थापनाकालको परिदृष्य चर्चा गर्दै पछिल्लो समयमा चुम्लुङ पंक्ति सांस्कृतिक बढी वैचारिक कमजोर हुँदै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै राज्यमा उपस्थिति बृद्धिको लागि राज्यसंरचनामा र राजनीतिक सत्तामा उपस्थिति बढाउनको लागि क्रमशः युवा विद्यार्थी पंक्तिलाई प्रशासनयन्त्रमा प्रवेशको लागि लोक सेवा तयारी कक्षाहरु र आदिवासी जनजातिमा देखापरेको साँस्कृतिक चेतलाई राजनीतिक चेतमा परिणत गर्न गराउन सकृय रहनुपर्ने बताउनुभयो । नेपालको वर्तमान राजनीतिक परिस्थितिमा जननिर्वाचित नेताको स्वेच्छाचारिताबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितामा देखापरेको प्रतिगमन एवम् संकटप्रति सचेत भई बृहत नागरिक आन्दोलनसँगै चुम्लुङ पंक्ति संघर्षरत रहनुपर्ने बताउनुभयो । लिम्बु समाजमा योगदान गर्ने हिसाबले संघसंस्थाहरु खोलिनु स्वभाविक भएता पनि किरात याक्थुङ चुम्लुङ विरुद्ध लाग्नुले समग्र समाज विकासमा योगदान गरिरहेको छैन भनी सबैलाई सचेत गराउनुभयो । आदिवासीहरुको भूमि अधिकार विशेषत आफनो धार्मिक सांस्कृतिक थातथलोहरुको संरक्षण, सामुदायिक एवम् सामुहिक भूमिहरुको संरक्षण तत् कार्यको लागि याक्थुङ सयङ(थरगत)हरुको सहजीकरण एवम् संगठीत कार्यमा चुम्लुङ पछिल्लो समयमा क्रियाशील रहेको बताउनुभयो । नयाँ परिवेशमा संघ, प्रदेश र स्थानीय तहमा देशको राज्य संरचना बनिरहेको र साधनश्रोत वितरण भइरहेको सन्दर्भमा चुम्लुङलाई पनि सोही अनुरुप संगठीत र क्रियाशील गराइरहेको बताउँदै चुम्लुङका नगरपालिका तथा गाउपालिका स्तरीय समितिहरुलाई आआफनो सम्बन्धित पालिकाहरुमा सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक हिसाबले साधनश्रोत, विषयगत कार्यक्रमहरु र हकअधिकार कार्यान्वयन गराउनको लागि सकृय हुन अपील गर्नुभयो ।
प्रमुख अतिथिले क्रमशः राष्ट्रिय जनगणनाको सन्दर्भमा हाल समाजमा भएको विविध विवादहरुको सन्दर्भमा चुम्लुङले जिम्मेवार र आम दृष्टिकोण दिएर गइरहेको अवस्था छ, समय र परिणामले सबैलाई परिक्षण गर्ने बताउनुभयो । कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा जनगणना सम्बन्धीको अपील पर्चाहरु वितरण गर्दै केन्द्रबाट तयार गरिएको रेडियो जिंगल सबै सहभागीहरुलाई सुनाउँदै जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । जनगणनामा अन्य आदिवासीहरु राईले खम्बु, मगरले लाङघाली, गुरुङले तमु, तामाङले मुर्मी लेखौं किन भनेनन्, लिम्बुले चाहि किन याक्थुङ लेख्नुपर्ने तर्कको छरछिमेकीको विवेकसँग तुलना गरी सचेत हुन र समयसान्दर्भिकता बुझन सबैलाई अपील गर्नुभयो । साथै धर्मको सन्दर्भमा नेपालकै परिवेशमा किरात लेखिएको नकि अन्यबाट प्रभावित नभएको साथै अन्य मुलुकको परिवेश फरक होलान् भनी बुझनुपर्ने बताउनुभयो ।
त्यसैगरी अतिथि एवम् प्रशिक्षक केन्द्रीय उपाध्यक्ष डा तिगेलाले थप विस्तृत मन्तव्य राख्दै ‘किरात, याक्थुङ, लिम्बु’ आदि शब्दहरु मुन्धुममा पाइदैन भनी भ्रम छरिएता पनि यी सबै इतिहास, अभिलेख र वर्तमानको ययार्थ हुन, चुम्लुङको विधान तथा आधिकारिक अभिलेखमा उल्लेखित यथार्थ शब्दहरु हुन् । लिम्बु समाजमा एकापसमा भिड्ने होइन कि राज्यसँग भिडनुपर्ने बेला हो भन्दै जनगणनामा स्पष्ट भएर सबै पंक्ति लाग्नुपर्ने बताउनुभयो । साथै समाजमा खोलिएका सबै संस्थाहरु दिगो रहन सक्दैनन भन्दै इतिहासका संस्थाहरुको उदाहरण प्रस्तुत गर्नुभयो । अर्का अतिथि एवम् प्रशिक्षक केन्द्रीय सचिव डा पालुङवाले संगठनलाई क्रियाशील गराउनुपर्ने अपील गर्नुभयो ।
उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट युमा साम्माङ हो, धर्म लेख्न मिल्दैन कि, करङ पिप्मा के हो ? नील गाई ? लाहुरे हुनुले राज्यसंयन्त्रमा प्रवेशमा पारेको प्रभाव, धर्मनिरपेक्षता, संगठन अनुशासन, थरगत थुमगत संस्थाहरुसँग सहकार्यको बारेमा सुझाव तथा जिज्ञासाहरु राख्नुभयो । कार्यक्रममा केन्द्रीय सल्लाहकारहरु नरप्रसाद लुम्फङवा, हर्ष सुब्बा, चन्दमाया माबो, केन्द्रीय सदस्यहरु संगीता सुब्बा, उदय लावती, जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ, राष्ट्रिय चुम्लुङ सदस्यहरु, जिल्ला नगरका पदाधिकारी सदस्यहरु, थरगत तथा थुमगत संस्थाका प्रतिनिधिहरु, वडाका अध्यक्ष सचिवहरु लगायत समाजका अगुवाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समितिको समन्वय रहेको थियो । उक्त कार्यक्रमको अन्तमा नगर अध्यक्ष लिम्बुले मन्तव्य राख्दै सबैलाई जनगणनामा स्पष्ट भएर लाग्नुपर्ने अपील गर्नुभयो र सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।