2021-05-24

संखुवासभा चैनपुरमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत २२ गते । संखुवासभा जिल्ला चैनपुर नगरस्थित दिलकुमारी स्मृति सभा भवनमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ चैनपुर नगर समितिको सहआयोजना र संखुवासभा जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अनिल लिम्बु, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति महासचिव निरन्ती तुम्बापो सहित केन्द्रीय सदस्य उत्तम लिङथेपले गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक महासचिव तुम्बापोले मन्तव्य राख्ने क्रममा कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य लिङथेपले जनगणनाको महत्व, किरात हुनु र लेख्नुको ऐतिहासिक तथ्य तर्कहरु प्रस्तुत गर्दै सहभागीहरुलाई प्रष्ट गर्नुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु आएका थिए । कार्यक्रममा पुर्व जिल्ला अध्यक्षहरु लक्ष्मी थोप्रा, राजकुमार थक्लुङको उपस्थिति साथै समाजका अगुवाहरु संखुवासभा जिल्ला, नगर तहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रमको उद्घोषण जिल्ला सचिव धनकुमार साँवा, कियाचु लिम्बुवान प्रदेश समितिको समन्वय समेत रहेको थियो । उक्त कार्यक्रमको अन्तमा जिल्ला अध्यक्ष अनील लिम्बुले मन्तव्य राख्दै सबैलाई जनगणनामा स्पष्ट भएर लाग्नुपर्ने अपील गर्नुभयो र सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।

सोही समयमा महासचिव तुम्बापोले चैनपुर, पोखरीबजारमा चुम्लुङ भवनको निर्माणस्थल अवलोकन गर्नुभयो । सो समयमा जिल्ला अध्यक्ष अनील लिम्बु, जिल्ला पुर्व अध्यक्ष राजकुमार थक्लुङ, जिल्ला सहसचिव जीवन थलङ हुनुहुन्थ्यो । चुम्लुङ भवनको लागि उक्त जग्गा स्व. जितबहादुर फावेन लिम्बुले पोखरीबजारमा निशुल्क प्रदान गर्नुभएको हो ।