2021-05-24

धनकुटा बजारमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत २५ गते । धनकुटा जिल्ला धनकुटा बजार बसपार्कस्थित भूपूसैनिक भवनको सभाहलमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ धनकुटा नगर समितिको सहआयोजना र धनकुटा जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता कमलदीप तिगेला, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति महासचिव निरन्ती तुम्बापोले गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक महासचिव तुम्बापोले मन्तव्य राख्ने क्रममा कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । धर्मको प्रचारमा मात्र हिड्यो भन्ने भ्रम नहोस् । लिम्बू समुदायको आर्थिक सामाजिक राजनीतिक सँगै संगठन नितिगत काम कर्तव्य भाषिक काम सँगै धेरै विषयमा कार्यक्रमहरु रहेको जानकारी राख्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य हेम आङलाले जनगणनाको महत्व सहभागीहरुलाई प्रष्ट गर्नुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु आएका थिए । कार्यक्रममा जिल्ला, नगर तहका पदाधिकारी तथा सदस्यहरु, महिला, युवाहरुको उपस्थिति रहेको थियो । लिम्बुवान प्रदेश समितिको समन्वय समेत रहेको थियो । उक्त कार्यक्रमको उद्घोषण जिल्ला सचिव प्रेम तुम्बाहाङले गर्नुभएको र अन्तमा जिल्ला अध्यक्ष कमलसिंह तिगेलाले सबैलाई जनगणनामा स्पष्ट भएर लाग्नुपर्ने अपील गर्दै सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।