2021-05-24

केवलकार उद्घाटन विरोधमा ज्ञापनपत्र दर्ता

मिति २०७७ चैत २६ गते । प्रधानमन्त्री ओलीले मुक्कुमलुङमा केवलकार उद्घाटन गर्ने कार्यक्रमको विरोधमा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय र पर्यटन मन्त्रालय सिंहदरवारमा ज्ञापनपत्र दर्ता भएको छ । याक्थुङ लिम्बू थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वा, किरात याक्थुङ चुम्लुङ अध्यक्ष योगराज लिम्बू र मुक्कुमलुङ संयुक्त समितिका संयोजक श्री लिङ्खिमद्वारा हस्ताक्षरित ज्ञापन पत्र आज दर्ता भएको हो ।

याक्थुङ लिम्बूहरुको आस्थाको धरोहर मुक्कुमलुङलाई राज्यले सत्ता र शक्तिको आडमा पाथिभरा नाम दिएर भाषिक अतिक्रमण गरेको र हिन्दु देवि देवता, पुजारीहरु राखेर याक्थुङ पहिचान मेट्ने कार्य गरेपछि उक्त अन्यायपूर्ण अतिक्रमणको विरुद्दमा संघर्षरत छन् । अब अतिक्रमणकारी पाथिभरा होईन, मुक्कुमलुङ हुनु्पर्छ र मुक्कुमलुङको मुन्धुमी र साँस्कृतिक आधारमा मक्कुमलुङ क्षेत्रको विकास र संरक्षण हुनुपर्छ भन्ने स्थानीय याक्थुङहरुको माग र चाहना रहेको छ । सो सम्वन्धमा स्थानीय याक्थुङ अभियन्ताहरु र प्रहरी प्रशासनविच सामान्य झडपसम्मको अवस्था सिर्जना भई सम्वन्धित सरोकारवालाहरुसंग छलफल गरेर मात्र काम कारवाही अगाडि बढाउने सम्झौता समेत भएको छ । यस्तो विद्यमान अवस्थामा सो क्षेत्रमा प्रधानमन्त्रिले केवलकारको उद्घाटन गर्ने कार्यक्रमप्रति सिङ्गो याक्थुङ समुदायले विरोध मात्र गर्ने छैनन्, प्रतिरोध समेत गर्नेछन् ज्ञापनपत्रमा उल्लेख छ ।