2021-05-25

तेह्रथुम लालीगुराँसमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत २७ गते । तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका बसन्तपुरमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । सो समारोहमा कियाचु लालीगुराँस नगरपालिका समिति र छथर गाउँपालिका समितिसँग भेटघाट कार्यक्रम समेत गरिएको थियो । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला कार्य समितिद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता गणेश सेनेहाङ, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति महासचिव निरन्ती तुम्बापो, केन्द्रीय सचिव कमला फोम्बोले गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक महासचिव तुम्बापोले मन्तव्य राख्ने क्रममा कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । धर्मको प्रचारमा मात्र हिड्यो भन्ने भ्रम नहोस् । लिम्बू समुदायको आर्थिक सामाजिक राजनीतिक सँगै संगठन नितिगत काम कर्तव्य भाषिक काम सँगै धेरै विषयमा कार्यक्रमहरु रहेको जानकारी राख्नुभयो । लिम्बु समुदायको समग्र विकास कार्यको लागि सधैं उर्जाशिलका साथ लाग्न अनुरोध गर्नुभयो । त्यसैगरी अर्का अतिथि प्रशिक्षक केन्द्रीय सचिव फोम्बोले र जिल्ला अध्यक्ष सेनेहाङले अभियानबारे सहभागीहरुलाई प्रष्ट गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु आएका थिए । कार्यक्रमको उक्त भेलामा लाली गुराँस नगर तदर्थ समिति समेत गठन भएको छ ।

कार्यक्रममा जिल्ला सचिव तेजमान कन्दङवा सहित जिल्ला, नगर तहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । लिम्बुवान प्रदेश समितिको समन्वय समेत रहेको थियो । अवलोकन भ्रमण तथा प्रशिक्षण कार्यक्रममा प्रदेश उपाध्यक्ष टंकमाया लिम्बु, थानाहाङ तिगेला, रविकिरण लिम्बु लगायतका निङलेखु प्रताप लिम्बु लगायतको समन्वय रहयो ।