मुक्कुमलुङ अतिक्रमणको माइतीघर मण्डलामा विरोध प्रदर्शन

मिति २०७८ बैसाख ९ गते ।ताप्लेजुङमा रहेको ‘मुक्कुमलुङ’लाई राज्यले अतिक्रमण गरेको भन्दै विहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । किरात याक्थुङ चुम्लुङ, याक्थुङ सयङ सहजीकरण समूह, लिम्बुजन्य थगरगत संस्थाहरु साथै शुभेच्छुक तथा ऐक्यबद्धता जनाउने विभिन्न संस्थाहरुबाट, लिम्बु विद्यार्थी मञ्च केन्द्रीय समिति, याक्थुङ लेखक संघ उपत्यका समिति, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति लगायत संस्थाका प्रतिनिधिहरु तथा आदिवासी जनजाति अगुवाहरुले याक्थुङ लिम्बुहरुको आस्थाको केन्द्र मुक्कुमलुङलाई विगतमा पञ्चायत सरकारले सांस्कृतिक अतिक्रमण गरी ‘पाथीभरा’ नामाकरण गरेको र अहिलेको सरकारले समेत अतिक्रमण जारी राखेको भन्दै विरोध गरेका हुन् । मुक्कुमलुङ नाम पुनस्थापना गर्नुपर्ने उनीहरुको मुख्य माग छ ।
किरात याक्थुङ चुम्लुङका प्रतिनिधि तथा लिम्बु समुदायका अगुवा गोविन्द आङ्बुहाङले आफूहरुले जतिबेला मुक्कुमलुङको अतिक्रमण भएको थियो त्यतिबेलादेखि नै आवाज उठाउँदै आएको बताए । उनले विभिन्न ठाउँमा मुक्कुमलुङको कुरा उठाउँदा तथा विभिन्न तहमा ज्ञापन–पत्र र निवेदन दिँदासमेत माग सम्बोधन नभएपछि आफूहरुले अतिक्रमणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको र हाल आन्दोलन गरिरहेको बताए । तर आफूहरुको मागलाई राज्यले सहज ढंगले सम्बोधन नगरे उपयुक्त समय र परिस्थिति मिलेको बेला उपयुक्त किसिमले जवाफ दिइने उनको चेतावनी छ । उनले यही वैशाख ११ गते मुक्कुमलुङमा प्रधानमन्त्री केपी ओलीले विकासको नाममा केवलकार निर्माणको शिलान्यास गर्न लागेको खबर प्राप्त भएको भन्दै सो स्थानमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन गरिने बताए । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले राज्यले विकासको नाममा आदिवासी जनजातिहरुको सभ्यता, आस्था र धरोहरहरु नष्ट पार्ने काम गरिरहेको भन्दै मुक्कुमलुङ बचाउनका लागि आदिवासी जनजातिहरु आफै जुट्नुपर्ने बताए ।
आदिवासी जनजाति साहित्यकार/लेखक महासंघका उपाध्यक्ष टंक सेलिङले आफूहरुले जातीय तथा धार्मिक दंगा नभइकन सहज ढंगले मुक्कुमलुङ नाम कायम होस् भन्ने चाहेको बताए । उनले देशका सबै जाति, भाषा, धर्म संस्कृतिका मानिसहरु मिलेर बस्नुपर्छ भने सबैले मुक्कुमलुङको अस्तित्वलाई पनि स्वीकार गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुले मुक्कुमलुङ अतिक्रमणविरुद्ध कडा शब्दमा राज्यको विरोध गरेका थिए । कार्यक्रममा मुक्कुमलुङ संरक्षणको पक्षमा कविता वाचन गरिएको थियो । हाल ताप्लेजुङमा पाथीभरा भनेर चिनिने मुकुम्लुङ लिम्बूहरूको सबभन्दा ठूलो देवस्थलमा पर्छ। त्यसैकारण त्यसको नाम परिवर्तन गरेर पहिचान नै मेट्न खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
पाथीभराको विषयमा जति गर्दा पनि सरकारले नसुनेपछि उनीहरूले सर्वोच्च अदालतमा मुद्दा नै हालेका छन्। त्यसमा १४८ संघ–संस्थाले निवेदन दिएका छन्। उनीहरूको माग यही दुइटा हो– नाम सच्चाइयोस् र केबलकार तत्काल स्थगित गरियोस्। पात्लेफेदीदेखि मुकुम्लुङसम्म केबलकार ल्याइँदा करिब दस हजार दुई सय ३१ रूख ढाल्नुपर्छ। त्यसक्रममा मुन्धूममा वर्णित फूल, रुखपात, जडिबुटी र जैविक जनावरहरू मासिने भनाइ छ।