2021-05-25

मुक्कुमलुङलाई याक्थुङको पवित्र स्थल घोषणा

मिति २०७८ साल बैशाख ११ गते । याक्थुङ लिम्बूहरुको ऐतिहासिक, सांस्कृतिक आस्थाको धरोहर मुक्कुमलुङलाई याक्थुङहरुको पवित्र स्थल (सेक्रेड साइट) घोषणा गरिएको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समितिको आयोजनामा शनिबार बृहत प्रदर्शन रयालीसहित घोषणा सभा आयोजना गरिएको थियो । कार्यक्रममा मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले सेक्रेड साइट घोषणा पत्र वाचन गरेर मुक्कुमलुङ नाम पुनःव्युँताइएको उद्घोष गर्नुभएको थियो ।

याक्थुङ परम्परागत मुन्धुम संस्कार विधी अनुसार साम्याङवा युप्पावा च्वाद्वारा सेसे साङसाङ (सुनपानी छर्केर) तुम्दुम्दो हेना (तुम्याहाङ वाक्य) बाट घोषणा गरिएको थियो । तुम्याहाङ डा. कमल तिगेलाले तुम्दुम्दो हेना गर्दै यो स्थल युमा माङले सावायेत्हाङ याक्थुङहरुलाई आशिर्वाद र बलशक्ति प्रदान गरेको पवित्र स्थल हो । युमाले बलशक्ति दिएको ठाउँ भएकोले नै यसको नाम मुक्कुमलुङ भएको मुन्धुम बाचन गर्दै यो पवित्र स्थललाई अतिक्रमण गरी नाम फेरेर पाथिभरा बनाएर विकृत पारेको हुँदा अबदेखि मुक्कुमलुङ नाम पुनःव्युँताएको उद्घोष गर्दै “आजदेखि मुक्कुमलुङ नाम भयो नै भयो है” भनेर हेना गर्नुभएको थियो ।

घोषणा सभालाई सम्बोधन गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले यो आन्दोलनप्रति चुम्लुङको ऐक्यबद्धता रहेको बताउँदै याक्थुङहरुको आध्यात्मिक स्थल हस्तक्षेप गरी पाथिभरा बनाइएकोमा आपत्ती जनाउँदै आदिवासीहरुको मञ्जुरीबिना कुनै पनि कार्यहरु गर्न नहुने बताउनुभयो । यदि राज्य वा जोकोहीबाट जबरजस्त गर्न खोजिए त्यसविरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो । मुक्मुमलुङको पवित्रता सबैले जोगाउनु पर्छ, केबुलकार कुनै हालतमा ल्याउनु हुदैन भन्ने कुरा कन्चनजंगा विकास समितिको अध्यक्ष खगेन्द्र फेम्बुले राखेका छन् ।

याक्थुङ थरगत सहिजकरण समूहका संयोजक तथा कियाचुका संस्थापक अध्यक्ष नन्द कन्दङवाले आदिवासीहरुको पुख्र्यौली भूक्षेत्रमा विकासका कार्यहरु गर्नुपरे उनीहरुको पूर्व सूचित स्वतन्त्र मञ्जुरी लिन जरुरी भएको हुँदा मुक्कुमलुङ क्षेत्रमा आदिवासी तथा स्थानीय समुदायको मञ्जुरीबिना केबलकार बनाउन अन्तर्राष्ट्रिय कानूनले नमिल्ने बताउनुभयो ।

थरगत सयङका अर्का सदस्य राम मादेनले राज्यको अतिक्रमणकारी भूमिकाले आदिवासी याक्थुङहरुको भूमी, प्राकृतिक श्रोत साधन र सांस्कृतिक सम्पदाहरु संकटमा परेको आक्रोश व्यक्त गर्नुभयो । त्यसरी नै किरात याक्थुङ चुम्लुङका सल्लाहकार नरप्रसाद लुम्फङवाले यो आन्दोलनप्रति सुनसरीका न्यायप्रेमी समुदायको साथ र सहयोग रहेको बताउँदै मुक्कुमलुङ सरोकार मञ्च धरानको सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसरी नै प्राज्ञ अमर तुम्याङले संघर्ष समितिको आन्दोलनमा पूर्ण ऐक्यबद्धता रहेको जनाउँदै राज्यको विभेदकारी र दमनकारी व्यबहारको डटेर सामना गरिने बताउनुभयो । आदिवासी साहित्यकार महासंघका साङसेन पन्दाकले राज्यको दमनकारी नीति र व्यवहारको बिरुद्ध युवाहरुले तुफानी आन्दोलन सृजना गर्ने उद्घोष गर्नुभयो । सांस्कृतिक पुनर्जागरण अभियान पान्थरका संयोजक मधुराज केरुङले राज्यको नश्लीय नीति र व्यवहार नसच्चिए युवाहरु बौद्धिक, भौतिक र वैचारिक रुपमा सशक्त ढंगले विद्रोह गर्न तयार रहेको आक्रोश पोखे ।

यो भन्दा अगाडि पाथीभरा देवी केललकार प्रा.लि.ले केबलकार निर्माण कार्य प्रारम्भ गर्नका लागि बैशाख ११ गते शिलान्यास कार्यक्रम राखेको विभिन्न संचार माध्यममार्फत सार्वजनिक भएको थियो । सोही शिलान्यास कार्यक्रमलाई लक्षित गरी बिरोध तथा सेक्रेड साइट घोषणा कार्यक्रम तय गरिएको संयोजक श्री लिङखिमले बताए । केबलकार कम्पनीले जग्गालाई कीर्ते मूल्यांकन गरी जनतालाई ठग्ने धन्दा गरेको र केबलकार निर्माणका लागि १२ हजार रुखबिरुवा काटेर वनजंगल सखाप पार्न लागेकोमा सबै स्थानीयको बिरोध रहेको बताइएको छ । केबलकार निर्माणले तल्लो र माथिल्लो फेदिका व्यापारी पुरै विस्थापित हुनुपर्ने, यातायात व्यावसायी र करिब चारसय भारी बोक्ने मजदुरहरुको रोजगारी गुम्ने भएको हुँदा केबलकार निर्माणप्रति सबैको बिरोध रहेको जनाइएको छ । वनजंगल बिनासले प्राकृतिक सम्पदा नष्ट हुनुका साथै वातारणीय तथा पर्यावरणीय रुपले नकारात्मक असर पर्ने बताइन्छ । सांस्कृतिक तथा प्राकृतिक दुवै सम्पदाको संरक्षणका लागि संघर्ष आवश्यक रहेको समितिका संयोजक लिङखिमले बताए ।

‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, केवुलकार चाहिदैन, हामी विकासको विरोधी होइन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले पुरै मुक्कुमलुङको वरिपरि विरोध प्रदर्शन गरेका छन् । घोषणा सभामा काठमाडांै, धरान, झापा, पान्थरका प्रतिनिधि तथा अग्रज बुद्धिजीविहरुको समेत सहभागीता रहेको थियो । जिल्लाका विभिन्न स्थानबाट करिब चार सय युवाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम शुरु गर्नु अगावै जुलुससहित देवस्थल परिक्रममा गरिएको थियो । सेक्रेड साइटलाई कार्यान्वयन गर्नका लागि रणनीतिक ढंगले लाग्ने संयोजक लिङखिमले जनाएका छन् ।