2021-05-26

मेचीनगर समाधिस्थल भत्काइएको घटनाको विरोध

मिति २०७८ वैशाख १८ गते । झापाको मेचीनगर नगरपालिकाले किरात समुदायको समाधिस्थल डोजर लगाएर नामेट पारिदिए पछि किरात समुदाय आन्दोलित बनेका छन् । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला कार्य समितिले एक विज्ञप्ति जारी गर्दै कडा विरोध जनाएको छ । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला कार्य समितिका अध्यक्ष सेसेहाङ फियाकसहितको प्रतिनिधिमण्डलले उक्त भत्काइएको स्थलको अवलोकन गरेको थियो, सामाजिक संजालहरुमा विरोधको लागि प्रचारप्रसार गरेको थियो ।

किराती समुदायले पचाँस वर्ष अघिदेखि प्रचलनमा ल्याएको समाधिस्थलमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) राख्न भन्दै नगरपालिकाले बुधवार डोजर लगाएर नामेट पारिदिएको थियो ।घटना वैशाख १५ गते घटेको हो । उक्त घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको प्रतिक्रिया जनाउँदै नेपाल आदिवासी जनजाति महासंघले बिनाशर्त पुनःस्थापनाको माग गरेकाे छ ।मेची पुलको दक्षिणपट्टि पाँच कठ्ठामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी समाधि रहेको छ । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुङ्ग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङले बताए ।

आदिवासी जनजाति समन्वय परिषद् मेचीनगरले काँकरभिट्टाको किराती समाधिस्थल भत्काइएको घटनाको विरोधमा गर्ने भनिएको आन्दोलनका सबै कार्यक्रम कोरोना महामारी बढेको कारण जनाउँदै केही दिनका लागि स्थगित गरिएको अध्यक्ष खापुङले जानकारी दिए । विरोध स्थगन गरिए तापनि आज विहान भत्काइएको समाधिस्थलमा सामूहिक क्षमापूजा गरिएको छ । पीडित परिवारका तर्फबाट पितृहरुको आत्माको चिर शान्तिका लागि क्षमा पूजाको आयोजना गरिएको जनाइएको छ ।