लिम्बु भाषामा बाल पुस्तक तयारी हुने
मिति २०७८ वैशाख ३० । समुदायका बालबालिका र किशोरकिशोरीहरूलाई लक्षित गर्दै याक्थुङ (लिम्बु) भाषामा बाल पुस्तकहरू तयार हुने भएको छ । आफ्नो मातृभाषाप्रति जागरुक बनाउन बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निर्माण गर्ने तयारी भइरहेको हो । एसिया फाउन्डेसनको प्राविधिक सहयोगमा अबको एक महिनाभित्र पहिलो चरणअन्तर्गत याक्थुङ भाषामा बाल पुस्तक तयारीको काम सुरु गर्ने हो ।
एसिया फाउन्डेसनको प्राविधिक सहयोगमा अबको एक महिनाभित्र पहिलो चरणअन्तर्गत याक्थुङ भाषामा बाल पुस्तक तयारीको काम सुरु गर्ने प्राज्ञ एवम् भाषाविद् अमर तुम्याहाङले जनाए । उनले प्रारम्भमा इलेक्ट्रोनिक माध्यमबाट पढ्न सहज हुने गरी ई–पुस्तक तयार हुने बताए । ‘जुलाई महिनासम्म फाउन्डेसनले उपलब्ध गराएको सामग्रीको याक्थुङ भाषामा उल्था भइसक्ने छ । ती सामग्रीहरू इन्टरनेटको सुविधा भएको ठाउँमा पढ्न सकिनेछ,’ तुम्याहाङले भने । उनले बाल साक्षरता कार्यक्रमअन्तर्गत फाउन्डेसनको नेपाल च्याप्टरले मातृभाषामा सामग्रीहरू तयार भइरहेको बताए । यसअघि, नेपालमा खस नेपाली, थारू, तामाङ, नेवारी भाषामा बाल पुस्तकहरू तयार भइसकेका छन् । यसैगरी, फाउन्डेसनका प्रतिनिधि समिरा राजभण्डारीसँग चुम्लुङ प्रतिनिधिले छलफल गरेको जनाउँदै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङले पुस्तक दुई चरणमा निर्माण हुने बताए । ‘पहिलो चरणमा उपलब्ध सामग्रीको उल्था हुनेछ । दोस्रो चरणमा याक्थुङ समुदायका मौलिक इतिहास, सँस्कृति, रहनसहन झल्काउने गरी सरल भाषा पठन सामग्री तयार हुनेछ,’ उनले भने । उनले लेट्स रिड्स एप्समार्फत याक्थुङ भाषाका सामग्री उपलब्ध हुने बताए । यसका लागि चुम्लुङले भाषाविद्, भाषिक अभियन्ता र विज्ञहरूसँग समन्वय गरेर काम गर्ने प्रष्ट्याए ।
यस सम्बन्धमा भएको जुम छलफलमा फाउन्डेसन प्रतिनिधि समिरा राजभण्डारी, चुम्लुङबाट अध्यक्ष योगराज वनेम, उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेन, उपाध्यक्ष तिगेला, महासचिव निरन्ती तुम्बापो, कियाचु लिम्बु साँस्कृतिक परिषद अध्यक्ष गोविन्द आङबुङ सहभागी भएका थिए ।